कांग्रेस बैठकको ठहरः ओलीले शासन गर्ने आधार गुमाए, सांसद अपहरणमा संलग्नलाई कारवाही गरियोस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेकपाका  प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे ठहर गरेको छ । कांग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकले ओली सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको भन्दै ओलीलाई सरकारमा रहिरहन नैतिकताले नदिने ठहर गरेको हो ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले मुलुक कोरोनाको गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको बताएको छ । ‘यो सरकार भ्रष्टाचारको पर्याय बनेको छ । कोभिड १९ को संक्रमणको स्थितिमा समेत सरकारमा बस्नेहरुले यसलाई भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक छ ।’ बैठकले भनेको छ ।

कांग्रेसले विवादास्पद दुई अध्यादेश ल्याउनु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्नु, सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गर्नु जस्ता कार्यले सरकार निरंकुशतातर्फ अग्रसर भएको जिकिर गरेको छ । भने, सरकारका क्रियाकलापले जनताको अभिमतको घोर उपेक्षा र अपमान गरेको ठहर गरेको छ । ‘नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’ कांग्रेसले जारी विज्ञप्तिमा भनिएको छ ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनालाई गम्भीर एवं अक्षम्य घटना भएको भन्दै कांग्रेसले सांसद अपहरण काण्डमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही गर्न माग गरेको छ ।

यसैगरी कांग्रेस बैठकले सांसद विकास कोष खारेज गर्न माग गरेको छ । कोरोनाको जोखिम सामना गर्न मुलुकलाई आवश्यक पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गर्न भनिएको छ । यो रकमबाट कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न कांग्रेसको आग्रह छ ।

कांग्रेसले आम नेपालीहरु संक्रमणको जोखिमसँग सामना गर्न लकडाउनको निर्देशनलाई पालना गरी बसेको एक महिना नाघी सक्दा यस अवधिमा संक्रमणको यथार्थ स्थितिको मूल्याङ्कन गर्न पिसिआर परिक्षणलाई तिव्रता दिने काममा सरकार पूर्णतः असफल भएको ठहर गरेको छ ।

भने, निश्चित मापदण्ड विपरीतका क्वारेन्टाइनबाट मलेरीया लगायतका अन्य विविध रोगहरुको संक्रमण विस्तारको जोखिम थप बढ्दै गएको हुँदा देशभरि रहेका क्वारेन्टाइनहरुलाई उचित मापदण्ड अनुरुपको व्यवस्थापन तत्काल गर्न गराउन बैठकले तीनै तहको सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अन्य रोगका विरामीको उपचारमा भइरहेको कठिनाई अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्नेमा कांग्रेसको जोड छ ।

यसैगरी राजधानी लगायत विभिन्न शहरी क्षेत्रमा अलपत्रमा परेका नागरिकहरुलाई ‘कि खान दिने, कि गाउँ जान दिने’ नीति लिएर तत्काल समुचित व्यवस्थापन गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको छ । विश्वका विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई स्वदेशमा ल्याउने व्यवस्था माग गरेको छ ।

कोरोना जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र वर्तमान ओली सरकारको लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुन जरुरी रहेको भन्दै कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कांग्रेसका तर्फबाट स्थानीय तथा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई अप्ठ्यारोमा परेका नागरिकहरुको सहयोगमा जुट्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *