‘त्यसो भए वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँ’ सचिबालय बैठकमा ओलीको नयाँ प्रस्ताब

काठमाडौं । हिजो साँझ बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिबालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाड्नै पर्ने भए उपाध्यक्ष वामदेव गौतमलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने प्रस्ताव अघि सारेर नयाँ अष्त्र प्रयोग गरेका छन् ।

झण्डै साढे तीनघण्टा चलेको बैठकले ठोस निर्णय गर्न नसकेपनि प्रधानमन्त्री ओलीप्रति अधिकांश नेताहरुको स्वर कठोर थियो । अर्का अध्यक्ष प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमले समेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन नसकेको, विवादै विवादको भूमरीमा अल्झिएर पार्टीलाई अलोकप्रिय बनाएको, पार्टी फुटाउनकै लागि अध्यादेश ल्याएको भन्दै चर्को विरोध गरेका थिए ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा चलेको बैठकको अधिकांश समय ओलीले आफुलाई रक्षात्मक रुपमा प्रस्तुत गरेका थिए ।

बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी र सरकार नै अलोकप्रिय भइरहेको बर्तमान अवस्थामा आफूले भए राजीनामा दिने बताउँदै घुमाउरो शैलीले ओलीको राजीनामा मागेका थिए ।

त्यसपछि बोल्दै प्रधानमन्त्री ओलीले यदी आफुले राजीनामा दिनै पर्ने भए नयाँलाई अवसर दिउँ भनेर वामदेव गौतमलाई अघि सारेको एक सचिबालय सदस्यले भने । ओलीले पार्टी अध्यक्षमा माधब कुमार नेपाललाइ प्रस्ताब गरेका थिए ।

‘अहिले सामान्य अवस्था छ । कोरोनाको त्रास छ । साथीहरूको त्यस्तै मन हो भने पार्लियामेन्ट (संसद्) मै फेस गरौंला । मैले छाड्नु नै पर्ने हो भन्ने साथीहरू भइसक्नुभयो, कोही एकपटक, कोही दुईपटक, नयाँ, अवसर नपाउनुभएको वरिष्ठ नेता वामदेव हुनुहुन्छ, कुनै क्षेत्र खाली गरौं, उहाँलाई उठाउँ, जिताएर ल्याउँ, प्रधानमन्त्री बनाउँ’ प्रधानमन्त्रीले गौतमलाई निर्वाचित गराएरै प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा प्रचण्डले वामदेव गौतमलाई बेलाबखत भकुण्डो बनाउने गरिएको भन्दै टिप्पणी गरेको स्रोतको दावि छ ।

‘प्रधानमन्त्री ओलीको प्रस्तावपछि प्रचण्ड अलिक नरम रुपमा प्रस्तुत भए । नत्र उहाँ कडारुपमा बोल्दै हुनुहुन्थ्यो ।’ सचिबालय स्रोत भन्दछ । सचिबालय बैठकमा प्रचण्ड आक्रोशित शैलीमा प्रस्तुत हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल भने ओलीप्रति केही नरम शैलीमा प्रस्तुत भएका थिए ।

सचिवालय सदस्यका अनुसार ओलीले अहिले आफूले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद त्याग्नु परेको अवस्थामा नेकपाको राजनीतिक समीकरण नै फेरबदल हुन सक्ने गरी वामदेव गौतम र माधवकुमार नेपाललाई अघि सारेका हुन्।

वामदेव गाैतम प्रधानमन्त्री कसरी बन्न सक्छन् ?

वर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा झिनाे मतान्तरले पराजित वामदेव गाैतम दुइ प्रकारले प्रधानमन्त्री बन्ने संभावना छ । पहिलो संभावना कोरोना भाइरस उन्मुलनपछि गाैतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिनेछ । त्यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्‍न पाउने गरी संविधान संशोधन हुनेछ साथै प्रधानमन्त्री पदबाट केपी ओलीको राजीनामा हुनेछ र वामदेव गाैतम नेकपा संसदीय दलको नेता चयन हुँदै प्रधानमन्त्री हुने बाटाे रहेकाे छ ।

यसैगरी दोस्रो बाटाे अन्तर्गत एकजना प्रतिनिधिसभामा निर्वाचित सांसदलाई राजिनामा गर्न लगाएर त्यस क्षेत्रबाट पुनः गाैतमलाई उपनिर्वाचन गरीनेछ । जहाँबाट गाैतम विजयी हुँदै संसदमा प्रवेश गर्नेछन् । तर, याे प्रकृयामा गाैतम निर्वाचनमा जित हासिल गरेर प्रधानमन्त्री बन्ने संभावना कम छ । उनलाई यस अघि काठमाडाै, कास्की र डाेल्पाबाट समेत निर्वाचनमा उठाउने कसरत भएकाे थियाे । तर, उनलाई जनताले नै बहिस्कार गरेका थिए । निर्वाचित भएर प्रधानमन्त्री बन्न गाैतमलाई फलामकाे चिउरा चपाए सरह हुने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *