‘पार्टी रहे हामी सबै रहौँला, पहिले पार्टी बचाऔँ !’

  • कुल प्रसाद भुसाल

करीब एक हप्तादेखि नेपाली राजनिती तातेको छ । सचिवालयको बैठक बस्दै छ भन्नेछ । आगामी दिनमा स्थायी समितिको बैठक पनि अवश्य बस्नु होला !

सबै नेताहरु इतिहास बनाएरै नेतृत्व तहमा पुग्नुभएको हो । आफ्नो इतिहास र कार्यकर्ताको भावनालाई पक्कै न्याय गर्नुहुनेछ । पार्टीलाई एक ढिक्का बनाई मुलुकको विकास र समृद्धिको यात्रामा अघि बढ्न र पार्टी एकता जोगाउनुका साथै सिंगो देशलाई एकताबद्ध बनाइ विश्वास र सहकार्यको वातावरण तयार पार्नु आजको आवश्यकता हो ।

गल्ती, कमिकमजोरी कहाँ–कहाँ भए, त्यसलाई आत्मसमिक्षा गरी अगाडिको बाटो तय गर्नुपर्छ । यहाँहरुको पद र सत्ता करोडौं शुभचिन्तक, लाखैंँ कार्यकर्ता र हज्जारौं नेताहरूको योगदान, त्याग र बलिदानको जगमा प्राप्त भएको हो ।

पार्टी रहे हामी सबै रहौँला । तपाईँहरु सबैको पद रहला । त्यसैले पहिले पार्टी बचाऔँ । ७० बर्षसम्मको टुट्फूटको इतिहासबाट पाठ सिक्नु भएकै होला । नेपालमा नेपाली जनताको विश्वास र सदभाव कुनै एक नेता विशेषलाई नभइ एकिकृत कम्युनिष्ट पार्टी नेकपालाई हो । मुलुक र नेपाली जनताको समृद्धिको खातिर जनताले दिएको विश्वासको नासो हो ।

केहि गर्नका लागि एक भएको कुरालाई सबैले मनन गरौं । एकलौटी कसैले नगरौं । सबैको अस्तित्व स्वीकार गरौं । सत्ताको दुरुपयोग नगर्नुस् । आफ्ना वरिपरि घुम्नेको कुरा मात्र नसुन्नुहोस् ।

प्रिय आदरणीय कमरेडहरुलाई भजाएर मुलुक र समाज लुट्ने र पार्टी तथा नेतालाई बदनाम गर्नेहरुको घेराबाट बाहिर आउनुहोस् । नाता–गोता, छोराछोरीको साँघुरो घेराबाट बाहिर आउनुहोस् । ठुलो छाती बनाउनुहोस् ।

पार्टी सदस्य, आम शुभचिन्तक समर्थकलाई आफ्नो घेरा मान्नुस् । एकले अर्कोलाई खुइल्याएर, निषेध गरेर होइन, एकले अर्कालाई सम्मान गरेर पार्टी बचऔं ।

हामी सबै एउटै डुंगामा सवार छौँ । पारदर्शी र संस्थागत ढंगले हरेक निर्णयमा पुगौँ । यस्तो अवसर भविष्यमा सायदै आउला, गुम्न नदिऊँ ! यसैमा पार्टी, नेता–कार्यकर्ता र आमजनताको भलो छ !

कोरोना माहामारीबाट अन्यत्र (अध्यादेश) ध्यान मोड्दा सरकारमाथि प्रश्न चिन्ह लागेको छ । यो समस्याको हल सामाजिक सञ्जालमा गाली–गलौज गरेर भन्दा पनि मैत्रीपूर्ण छलफल चलाउने, सिद्धान्त र व्यवहारमा एकरुपता कायम गर्ने, तल्लो वर्गमा केन्द्रित गरेर योजना बनाउन सुझाव लिने–दिने कार्य गर्नु उपयुक्त हुन्छ ।

मेरो बुझाइमा अबको योजना वा समाधान यी हुन सक्छन्ः

  • अहिले उठेका विषयहरुको समाधान वैचारिक अधारमा कमिटी प्रणालीबाट खोज्ने ।
  • सरकारको र पार्टीको ध्यान कोरोना महामारीपछि अर्थतन्त्रको पुनर्जीवन र गतिवान बनाउने कामको योजना बनाउन अर्थविदहरुको आयोग बनाउने ।
  • सरकारलाई यो जनताको अप्ठ्यारो समय र अगामी दिनलाई समेत उपयोगी हुने लोक कल्याणको काम तत्काल अघि बढाउन पार्टीको तर्फबाट योजना सहित निर्देशित गर्ने ।
  • आगामी दिनमा महत्वपूर्ण र दुरगामी विषयमा निर्णय लिँदा सरकारले पार्टीको राय लिने ।
  • विवादास्पद र कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीलाई पार्टी निर्णयमा फिर्ता बोलाउने र युवा र उर्जावानलाई मन्त्रीमा सिफारिस गर्ने ।
  • संवैधानिक निकाय लगायत खाली पदमा नयाँ नियुक्त गर्दा विषय विशेषज्ञताका आधारमा सिफारिस गर्ने ।
  • बामदेव गौतमलाई पार्टी निर्णय अनुसार तत्काल राष्ट्रिय सभामा सिफारिस गर्ने ।
  • अहिलेको मन्दीबाट अर्थतन्त्रलाई उकास्दै लोक कल्याणकारी कार्यक्रम चलाउन सक्ने अनुभवी क्षमतावान क.सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीमा नियुक्त गर्ने ।
  • कमिकमजोरीलाई करेक्सन गर्दै, पार्टी कमिटीमा आत्मालोचना गर्न लगाइ क.केपी ओलीलाई प्रममा पुरा कार्यकाल निरन्तरता दिने ।
  • क. माधब नेपालको नेतृत्वमा सरकार र पार्टीको कामकारबाहीमा र बुझाइमा एकरूपता ल्याउन उच्चस्तरीय समिति वा सञ्जाल बनाउने ।
  • क. केपी ओलीले सरकारको काममा पुर्णतया ध्यान दिने, पार्टीको काममा हस्तक्षेप नगर्ने । क. प्रचण्डले पुरा ध्यान पार्टीको संघसंगठनमा केन्द्रित गर्ने । एकल अध्यक्ष प्रणाली लागू गर्ने ।
  • यीमाथि उल्लेखित विषयमा छलफल चलाउन अनिवार्य रुपमा स्थायी समितिको बैठक बोलाउने ।
  • अन्तमा सामाजिक सञ्जालमा एकमर्काको उछितो काढ्ने काम रोक्ने र पार्टी नेताकार्यकर्तामा आचारसंहिता कडाइपूर्वक लागु गर्ने, अनुशासन नमान्नेलाई कारवाही गर्ने ।

(कुल प्रसाद भुसाल नेकपा चितवन जिल्ला सदस्य हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *