कोरोनाले रोकियो १८ लाख विद्यार्थीको परीक्षा, सञ्‍चालन गर्न तीन विकल्प

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोभिड-१९ का कारण रोकिएका एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्पमा छलफल सुरु गरेको छ । बोर्डले लकडाउन खुलेपछि केन्द्रको संख्या बढाएर परीक्षा सञ्चालन गर्ने गृहकार्य गरिरहेको हो ।

पहिलो विकल्पको रूपमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी दैनिक आफ्नै घरबाट पुग्न सक्ने गरी परीक्षा केन्द्र राखेर साविकको जस्तै परीक्षा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । विज्ञहरुले भने आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षार्थीको स्तरमापन गर्न सकिने राय दिएका छन् । यी परीक्षाको जिम्मा प्रदेश, स्थानीय सरकार वा विद्यालयलाई दिएर विद्यार्थीको सिकाइ मापन गर्नुपर्ने तर्क पनि बलियो छ ।

पहिलो विकल्पमा लकडाउन खलेपछि घरपायक केन्द्रमा परीक्षाको व्यवस्था मिलाउने, दोस्रोमा लकडाउन कायम रहे पछिल्लो परीक्षाका आधारमा मूलयांकन गर्ने र तेस्रोमा परीक्षा सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने छन् । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले विद्यार्थीले घरबाटै परीक्षा दिएर घरमै फिर्ता आउन भ्याउने गरी देशभर परीक्षा केन्द्रहरुको अध्ययन भइरहेको जनाए । बोर्डले त्यसका लागि ७७ वटै जिल्लाबाट विवरण माग गरिरहेको छ ।

चैत ६ गते तोकिएको एसईईका लागि मुलुकभर २ हजार परीक्षा केन्द्र कायम गरिएको थियो । विद्यार्थीले आफ्नै घरबाट परीक्षा दिन सक्ने व्यवस्था गर्न हिमाली र पहाडी क्षेत्रमा केन्द्र थप गर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा दिन विद्यार्थीले कोठा खोज्न नपर्ने गरी व्यवस्था मिलाइने सदस्यसचिव अर्याल जनाए ।

अझै एकरडेढ महिना लकडाउनको अवधि थपिँदा पनि परीक्षा गर्न सम्भव रहेको उनले दाबी गरे । ‘चैत, वैशाख, जेठ र असार परीक्षा दिएर विद्यार्थी बिदा बस्ने समय हो,’ उनले भने, ‘यसपालि परीक्षा ढिलो भए पनि नतिजा चाँडै प्रकाशन गर्ने विधि खोजी गरेका छौं ।’ बोर्डले विद्यार्थीहरुलाई परीक्षाको तयारी जारी राख्न पनि आग्रह गरेको छ ।

एसईई दिने विद्यार्थीको कक्षा ११ को शैक्षिकसत्र साउन १६ गतेदेखि सुरु हुन्छ । १२ कक्षाको परीक्षार्थीको पठनपाठन दसैंतिहारपछि मात्रै सुचारु हुन्छ । यसपटक परीक्षा ढिलो भए पनि महिना दिनभित्रै नतिजा प्रकाशन गरेर शैक्षिकसत्रमा असर पुग्न नदिने उनले प्रस्ट्याए । ‘स्कुल, कलेज खुल्ने अवस्था आए परीक्षा चलाउन ठूलो कुरा छैन, पढ्ने विद्यार्थीभन्दा परीक्षा केन्द्रमा परीक्षा दिने विद्यार्थीको संख्या थोरै हुन्छ, पढाइ नै नभए परीक्षाको औचित्य छैन,’ अर्यालले भने ।

लकडाउन लम्बिँदै गए पहिलो, दोस्रो परीक्षाको आधारमा पनि विद्यार्थीको आन्तरिक मूल्यांकन गरेर नतिजा प्रकाशन गर्न सकिने गरी बोर्डमा छलफल भइरहेको समाचार कान्तिपुरमा छ । विज्ञहरुले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्न सकिने सुझाव दिएका छन् । कतिपय विज्ञले भने स्थानीय अवस्थाअनुसार यी तीनवटै परीक्षाको जिम्मा प्रदेश र स्थानीय सरकारलाई दिन सकिने विकल्प पनि अघि सारेका छन् ।

तीनवटै कक्षामा गरी १५ लाख परीक्षार्थी छन् । कक्षा १० देखि माथिल्लो तहको सबै गरी करिब १८ लाख विद्यार्थीको परीक्षा कोरोनाका कारण रोकिएको छ ।लकडाउन लम्बिँदै गए मात्रै अन्य विकल्पका बारेमा छलफल गर्न सकिने बोर्डका अधिकारीहरु बताउँछन् । शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनका विकल्पहरुको अध्ययन गर्न बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले पनि विद्यार्थीलाई सहज हुने गरी परीक्षा चलाउन मन्त्रालयलाई सुझाव दिने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *