‘संकटपूर्ण घडीमा मिलेर जानुको विकल्प छैन, विभाजनको कुरा नगरौं’ चौधरी

काठमाडौं । मुलुक कोरोना भाइरस संक्रमणका विरुद्ध लडिरहेको अवस्थामा सत्तारुढ नेकपा भित्र आन्तरिक द्वन्द्व सृजना भइ सरकार परीवर्तन सम्मको खेल हुनु दुखःको कुरा भएको नेतृ भगवती चौधरीले बताएकी छिन् । विश्वब्यापी कोरोना भाइरस महामारीबाट जनतालाई बचाउन सम्पूर्ण शक्ति एक जुट हुनुपर्ने बेलामा सत्तारुढ दल नै आन्तरिक कलहमा रुमलिनु लज्जास्पद रहेको नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले बताइन् ।

‘यो बेला लड्ने अवस्था हैन, कसरी हुन्छ जनतालाई कोरोनाको महामारीबाट बचाउन ध्यान केन्द्रीत गर्ने बेला हो ।’ उनले भनीन् । विश्व कोरोना महामारीको विरुद्ध र यसको जोखिम व्यवस्थापनमा तल्लिन रहेको घडिमा नेपालमा लकडाउनका कारण दैनिकी छाक टार्ने जनताको दयनीय अवस्था छ । कोरोनाबाट सृजित र सृजना हुनसक्ने भावि जोखिमको ब्यवस्थापनबारे आर्थिक, रणनीतिक योजना बनाएर बजेट, प्याकेज बनाउन छोडेर दलहरु आफु आफु फुट्ने र फुटाउने खेलमा लाग्नु गैरजिम्मेवारीपना भएको उनको भनाई छ ।

‘यस्तो खालको राजनीतिले जनता र कार्यकर्तामा नेतृत्वप्रति नैराश्यता र वितृष्णा पैदा गर्दछ । अहिलेको संकटपूर्ण घडीमा मिलेर जानुको अर्को विकल्प छैन । पार्टी विभाजनको कुरै नगरौं ।’ चौधरीले भनीन् ।

नेतृ चौधरीले पार्टी सञ्चालन र सरकार सञ्चालनमा मतभेद भए त्यसलाई छलफलको माध्यमबाट निराकरण गर्न सकिने अवस्था हुँदाहुँदै पार्टी विभाजनकै अवस्था सृजना गर्नु गम्भिर गल्ती हुने जिकिर गरिन् । ‘जनताले स्थायी सरकारको आशामा जनमत दिएकोले अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्नु भनेको जनमतको अवमुल्यन गर्नु हो । नेतृत्व वर्गले यो कुरालाई बुझ्न जरुरी छ ।’ चौधरीले भनीन् ।

भगवती चाैधरी

देशकै ठुलो पार्टी र सरकारप्रति जनताले ठूलो आशा र अपेक्षा राखेको अवस्थामा सरकारले जनताका आशा र अपेक्षा अनुरुप काम गर्नुपर्नेमा आन्तरिक कलहमा अल्झिँदा त्यसको असर मुलुकको विकासमा पर्ने चौधरीको धारणा छ । विगत लामो समयदेखि मुलुक अस्थिर राजनीतिको शिकार हुँदा मुलुकले आर्थिक, सामाजिक रुपमा ठूलो मुल्य चुकाउनु परेको स्मरण गराउँदै नेतृ चौधरीले अबपनि राज्य सञ्चालकहरु राजनीतिक कलहमै हराउने होभने मुलुकको विकास कसले गर्ने ? भन्दै प्रश्न गरीन् ।

चौधरीले सरकार सञ्चालनमा पार्टीले दिएको सल्लाह सुझावलाई नेतृत्वले समुचित रुपमा संवोधन गर्न नसकेको तथा कतिपय मन्त्री तथा मुख्यमन्त्रीहरुको कार्यशैली कमजोर भएकैले जनतामा बर्तमान सरकार प्रति निराशा बढेको बताइन् । पछिल्लो राजनीतिक घटनाक्रमले सत्तारुढ दलप्रति जनतामा आक्रोश बढेको उल्लेख गर्दै चौधरीले २ वर्षअघि जनतामा पार्टीप्रति देखिएको आकर्षण अहिले हराउँदै गएको औंल्याइन् । ‘दुई वर्षअघि जनतामा नेकपा प्रति जुन उत्साह र आकर्षण थियो अहिले हराएको छ । जनता अहिले ‘जुनै जोगी आएपनि कानै चिरेको’ भन्न थालेका छन् । जनतामा पार्टी प्रति पुनः आशा र भरोसा दिलाउन पनि नेतृत्वले अहिलेको अवस्थामा फुटको राजनीति गर्नु हुँदैन ।’

पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीले बर्तमान सरकारका केही सल्लाहकारहरुको गलत सल्लाह सुझावले पार्टी र नेतृत्व आलोचित भएको दावि गरीन् । पार्टीले सरकार सञ्चालनमा उचित सल्लाह दिन नसक्नु तथा सरकारका सल्लाहकारका रुपमा रहेकाहरुले सहि सल्लाह नदिँदा त्यसको मुल्य पार्टीले चुकाउनु पर्ने अवस्था आएको उनको तर्क छ । ‘पार्टी नेतृत्वले पनि सरकारलाई सहि दिशानिर्देश दिन सकेन भने, सरकारलाई उचित सल्लाह दिने ठाउँमा रहेकाले पनि सहि सल्लाह दिन सकेनन् । उनीहरुको गलत सल्लाहले पार्टीलाई ठूलो क्षती पुगेको छ ।’

उनले पार्टी विभाजनकै अवस्थामा गइसक्नुपर्ने परिस्थिति नआइसकेको भन्दै नेतृत्वले आ–आफ्ना तर्फबाट भएका कमीकमजोरीलाई स्विकार गर्दै समग्र जनता र कार्यकर्ताको भावना अनुसार सच्चिएर जानुपर्ने बताइन् । विगतमा भएका कमजोरी औंल्याएर आगामी दिनमा नेतृत्व एकढिक्का भएर गए मुलुकको विकासमा धेरै गर्न सकिने नेतृ चौधरीको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *