अन्तराष्ट्रिय बजारमा नराम्राे सन्देश जान सक्ने भन्दै बैशाख २५ पछि शेयर बजार खाेल्नु पर्नेमा जाेड

काठमाडौं । नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् ।

मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन खुलेको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाईन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे । यसका लागि नेप्से र बोर्डनै लागि परेको उनले बताए । सरकारले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन बजार सम्बद्ध निकायहरुमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हुदाँ बजार खोल्न नसकिएको उनले प्रष्ट पारे ।

‘तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार गर्ने पक्षमा छौं । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएका छौं ।’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् । साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अब वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा अघि बढेको बताए ।

नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेका जानकारी समेत दिए । नेप्सेको अनलाईन कारोबार प्रणाली आफैंमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरु नै यसप्रति आकर्षित नभएकोमा दुख व्यक्त गरे ।

यसैगरी कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले शेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने तर्क नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताएका छन् । पौडेलले हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउन सुझाव दिएका छन् ।

‘वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको शेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तराष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जान्छ ।’ उनले भने । धितोपत्र बजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाई छ । अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्ये पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् ।

बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् । रानाभाटले बजार बन्द भएपनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निरन्तर भएकाले समस्या हुने बताए । वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिदै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको वताए । ‘हाललाई लगानीकर्ताहरुको खाता नविकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौं ।’ उनले भने । लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाई छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउने तर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।

शेयर विज्ञ डा. गोपाल भट्टले नेपालको पूँजीबजारले कर्पोरेट सेक्टरका कम्पनीहरुलाई पूँजी दिन्छ भने सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘देशको विकास गर्छु समृद्धिमा लैजान्छु भन्नेले बजार लामो समय सम्म बन्द हुदाँ समेत वास्ता नगर्नु गलत हो ।’ उनले भने । अन्तराष्ट्रिय मुलुकमा लकडाउन जारी रहदा समेत बजार खुला रहेको अवस्थामा नेपालमा लामो समय बन्द हुनुको कारण यस क्षेत्रलाई सरकारले व्यवास्था गरेको आरोप शेयर भट्टले लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *