कोरोना अस्पताल चोरी छानविन समितिको संयोजकमा बस्दिनः पौडेल

चितवन । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर कोरोना अस्पतालमा भएको चोरीको घटना छानविन गर्न गठित समितिको संयोजकमा रहन नसक्ने स्पष्ट पारेका छन् ।

सो अस्पतालमा कार्यरत कर्मचारीबाट रातको समयमा सामान चोरी भएको भिडियो सार्वजनिक भएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले संघका अध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । तर सो घटनाको छानविन समिति संयोजकमा बस्न पौडेल असमर्थ रहेको संघले मंगलबार एक सुचना जारी गरेर जनाएको हो ।

संयोजकमा रहन नसक्ने भनिएको उक्त पत्र भरतपुर कोरोना नियन्त्रण कार्यदललाई पठाइएको छ । छानविन समितिमा रही काम गर्नुपूर्व नै सो घटनाका सम्बन्धमा राजनीतिक हिस्साबाट वक्तव्य तथा टिकाटिप्पणी र सुचना सार्वजनिक भईसकेको अवस्थामा चितवन उद्योग संघ जस्तो निष्पक्ष र गैरराजनीतिक सामाजिक संंस्थाको अध्यक्षको हैसियतले सो समितिमा रही काम गर्नु संघको भावना विपरित हुने भन्दै संयोजकमा रहन असमर्थ रहेको पत्रमा लेखिएको छ ।

नेपाली कांग्रेस चितवनले कोरोना अस्पतालमा भएको चोरीको घटनाका विषयमा छानविन गर्न र त्यसमा संलग्नलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाइसकेको छ ।

कोरोना अस्पतालमा कार्यरत तीन जना कर्मचारीले रातको समयमा सामान चोरी गरेको भिडियो सार्वजनिक भएको थियो । अहिलेको विषम परिस्थितीमा अस्पताल जस्तो ठाउँबाट त्यही कार्यरत कर्मचारीबाट सामान चोरी हुनु खेद जनक भन्दै अहिले यो विषयले जिल्ला तताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *