वीपी प्रतिष्ठानले गरेको १०४ कोरोना परीक्षणमा सबै नेगेटिभ

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो सोमबार गरिएको १०४ जनाको कोरोना संक्रमण परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार एक नम्बर प्रदेशमा तीन दिन यता कोरोना संक्रमणको नयाँ बिरामी भेटिएका छैनन् ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरका अनुसार प्रदेश एक र दुईबाट संकलन गरी प्रतिष्ठान ल्याइएका स्वाबको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । प्रतिष्ठानमा प्रदेश एकको झापाबाट एक, सुनसरीबाट सात, उदयपुरबाट दुई जनाको स्वाब संकलन गरी प्रतिष्ठानमा ल्याइएको थियो । त्यसैगरी प्रदेश २ का सप्तरीबाट ९४ जनाको स्वाब नमुना परीक्षण गरिएको सह–प्रवक्ता डा. ऐरले जानकारी दिए ।

प्रतिष्ठानले कोरोना परीक्षणलाई तिब्रता दिएको छ । प्रतिष्ठानमा आज सय वटा कोरोना स्वाबको परीक्षण भइरहेको प्रतिष्ठानका सहप्रवक्ता ऐरले जानकारी दिए । वीपी प्रतिष्ठान एक नं. प्रदेशको कोरोना लेभल ३ अस्पताल हो । आइतबार बाट प्रतिष्ठानमा १३ आइसियू वेड सहितको सय शैयाको कोरोना अस्पताल पनि सञ्चालनमा आएको छ ।

प्रतिष्ठानमा गत आइतबार ६१ जनाको स्वाब परीक्षण गरिएको थियो । भने, शुक्रबार झापासहित विभिन्न स्थानबाट ल्याइएको ४८ स्वाब परीक्षण गर्दा झापा राजगढका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश १ मा अहिलेसम्म ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये झापा र भोजपुरका तीन जना वाहेक अन्य सबै उदयपुर र विराटनगरका रहेका छन् । उनीहरुको विराटनगरस्थित कोशी कोबिड १९ अस्पतालमा उपचार भइरहेको छ ।

गत चैत्र १६ गते वीपी प्रतिष्ठानमा कोरोना ल्याब स्थापना गरेपछि हालसम्म ८ सय ८६ वटा नमुना परीक्षण गरिएको छ । जसमा १३ जनाको पोजेटिभ आएको छ । ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छैन भने तीन सय ४ वटाको नतिजा आउन बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले वीपी प्रतिष्ठान पूर्वकै टर्सरी सेन्टर समेत रहेको र कोरोना उपचारका लागि लेवल ३ अस्पताल समेत रहेकाले कोरोना परीक्षण र उपचारमा विशेष योजना बनाइरहेको बताए । ‘अहिले विश्वले नै भोगिरहेको विपत्ति प्रति हाम्रो ध्यान गएको छ । प्रतिष्ठानमा अन्य काम कारवाही र सेवाहरु भन्दा कोरोना महामारी रोकथाम र नियन्त्रणमा काम गर्दैछौं ।’ डा. गिरीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *