९ लाख संक्रमित कोरोना जितेर घर फर्किए, नयाँ संक्रमण र मृत्युदर पनि घट्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र त्यसबाट हुने मृत्युदरमा विश्वभर नै कमी आउन थालेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरण अनुसार बढी प्रभावित संयुक्तराज्य अमेरिका, इटली र स्पेनमा २४ घण्टाको अवधिमा नयाँ संक्रमण र मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा कमी आएको हो ।

अमेरिकामा विगत दुई दिनदेखि यसको संक्रमण र ज्यान गुमाउनेको संख्यामा उल्लेख्य मात्रामा कमी आउन थालेको छ । गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १२ सय ३७ जनाको मृत्यु भएको छ । यो दुई दिनअघिको तुलनामा आधाले कमी हो ।

सोमबार अमेरिकामा २० हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन त्यहाँ ३३ हजार भन्दा धेरै संक्रमित भएका थिए । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ ।

सोमबार विश्वभर ६५ हजार ८ सय ७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जब कि तीन दिनअघि मात्रै एकै दिन एक लाख भन्दा धेरै संक्रमित थपिएका थिए । सोमबार कोरोना संक्रमणबाट विश्वभर गरेर ४२ सय ८८ जनाको मृत्यु भएको छ ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार ४ सय ३६ को मृत्यु भएको छ भने संक्रमितको संख्या ३० लाख ६२ हजार ७ नाघेको छ । अहिलेसम्म ९ लाख २१ हजार ३ सय १३ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *