कोरोना सङ्क्रमण स्थितिः दक्षिण पूर्वीएशियामा नेपाल दोस्रो स्थानमा

काठमाडौं। नेपाल दक्षिण पूर्वीएशियामा कोरोना सङ्क्रमणको शून्य मोडालिटीसहित दोस्रो स्थानमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दक्षिण पूर्वीएशियामा नेपाल ५१ कोरोना सङ्क्रमितसहित ठिकै अवस्थामा रहेको बताए।

कोरोना भाइरस नियन्त्रण र रोकथाममा अवलम्बन गरिएका रणनीतिका कारण अन्य देशभन्दा नेपाल राम्रो अवस्थामा रहेको उनले बताए। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेशमा रोक, जनचेतना कार्यक्रम, क्वारेन्टाइनमा राख्ने र बिरामीको निगरानी गर्ने, बिरामीको व्यवस्थापन गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने, आवत जावत रोक्ने लगायतका रणनीति अवलम्बन गरिएकोले कोरोना संक्रमणको जोखिम कम गर्न सम्भव भएको उनले बताए।

उनले कोरोना नियन्त्रण र रोकथामका लागि नेपालले सार्क क्षेत्र र दक्षिण पूर्वीएशियाका मन्त्रीहरूसँग छलफल गरिएकोसमेत जानकारी गराए। उक्त छलफलबाट पनि नेपालको कोरोना सङ्क्रमणको अवस्था अन्य देशभन्दा जोखिम कम रहेको उनको भनाइ रहेको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार चार जना कोरोना सङ्क्रमण निको भई घर फर्किएको जनाएको छ। वीरगन्जमा उपचार गराइरहेका १९ वर्षीय एक युवक र अन्य तीन जनाको डिस्चार्ज भएका छन्। योसँगै नेपालमा सङ्क्रमण निको भई घर फर्किनेको सङ्ख्या १६ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा मात्र दुई हजार ९६ जनाको परीक्षण गरिएको बताए। अहिलेसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको र आइसोलेसनमा ११० जना रहेको उनले जानकारी दिए। आइसोलेसनमा रहेकामध्ये काठमाडौंमा ६ जना छन् भने बाँकी १०४ जना काठमाडौंबाहिर छन्।

मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा दुई हजार ७१ कल प्राप्त भएको, मोबाइल एप्लिकेसन र वेबसाइटमा रहेको स्वमूल्यांकन फाराम ८९५ जनाले भरेको र ६ जना रेड जोनमा परेकोसमेत उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *