प्रधानमन्त्रीलाई वामदेवको सुझावः साझा प्रयत्नबाट समस्याको समाधान खोजौं

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको आफ्नो कुराकानीबारे मनमौजी किसिमले टीकाटिप्पणी भएको बताएका छन्। उपाध्यक्ष गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर आराम गर्न ओलीलाई सुझाब दिएको समाचार केही सञ्चार माध्यममा प्रकाशित भएको थियो। सोही समाचारप्रति उनले असन्तुष्टि जनाएका हुन्।

आइतबार जारी हस्तलिखित विज्ञप्तिमा गौतमले भनेका छन्ः ‘हिजो १३ गते प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टीका–टिप्पणी भएको मैले पाएँ। पार्टीभित्र, पार्टी र सरकारकाबीच, अनि अन्य पार्टी र सरकारकाबीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।’

वामदेवले भने साझा प्रयत्नबाट समस्याको समाधान खोज्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन पार्टी अध्यक्ष ओलीलाई सुझाब दिएको पनि उनले बताएका छन्।

उनले भनेका छन्, ‘समय र परिस्थितिप्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =