‘संकटविरूद्ध जुधिरहेको सरकारलाई घेराबन्दी गरियो’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेको सरकारलाई घेराबन्दी गरिएको बताएका छन्। सामाजिक सञ्चाल फेसबुकमा उनले नेकपाका नाममा स्थिरताविरूद्ध चलखेल भएको दावीसमेत गरे। नेकपाभित्र ठूलै तनाव भएको संकेत उनले गरेका छन्।
थापाले फेसबूकमा लेखेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाइ संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ ! जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामहरू गर्ने शिलशिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल, नेकपाको नाममा।’
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्। तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाउन मानिरहेका छैनन्। उनले यो विषय टाल्दै आएका छन्। यसले नेकपाभित्रका तनाव बढाउँदै लगेको छ। पछिल्लो समय नेकपाभित्र गहिरदो शक्ति संघर्षको उजागर हुँदै गएको छ।








