क्वारेन्टाइनमा रहेका केहीमा औलोको संक्रमण देखियोः स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको बताए। तर कहाँ कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएको छैन।

यद्यपि क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि र औलो संक्रमण देखिएकोले यसतर्फ सचेत रहन आवश्यक रहेकोसमेत उनले बताए।कोभिडको महामारीमा औलोको पनि प्रकोप बढ्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्‍न उनले आग्रह गरे। उनले शनिबार कोरोना भाइरसका नयाँ संक्रमित नभटिएको जानकारी दिए।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म पिसिआर प्रविधिबाट ९ हजार ६ सय ६६ जना कोरोना भाइरसको परीक्षण भएको छ। यस्तै आरडिटी प्रविधिबाट ३९ हजार ६ सय ७० जनामा कोरोना परीक्षण गरिएको छ। शुक्रबार साँझ कोरोना संक्रमण देखिएका पुरुष झापाको दमक निवासी रहेकोसमेत उनले जानकारी दिए। उनी चैत ४ गते दुबइबाट नेपाल आएका थिए।

हालसम्म नेपालमा ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ। हाल धनगढीमा १ जना, वीरगन्जमा ५ , भरतपुरमा १ र विराटनगरमा ३० जना उपचाररत छन्। सबैको स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए। आइसोलेसनमा भने ८७ जना रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *