सेती प्रादेशिक अस्पतालमा स्यानिटाइजेशन टनेल जडान

कैलाली । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन (पिन) सुदूरपश्चिमद्वारा सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वचालित स्यानिटाइजेशन टनेल शुक्रबार हस्तान्तरण गरेको छ । पिन सुदूरपश्चिमका अध्यक्ष गोकुलदेव जोशीले अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई सो स्यानिटाइजेशन टनेल हस्तान्तरण गरी जडान गरिएको हो ।

टनेलको शुभारम्भ गर्दै पूर्वसामाजिक विकासमन्त्री एवं सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य दीर्घराज सोडारीले टनेलको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने सङ्क्रमणको जोखिम कम गर्न मद्दत पुग्ने बताए । अस्पतालका अध्यक्ष दुर्गा जोशीले टनेलले दैनिकरूपमा सेवा दिन आत्मबल पुग्ने विश्वास व्यक्त गरे ।

उक्त टनेलको प्रयोग गर्दा चार सेकेन्डमा पूरै शरीरमा स्यानिटाइजर पुग्ने र कोरोनाको सङ्क्रमण फैलन जोखिम नरहने बताइएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरी स्यानिटाइजेशन टनेल निर्माण गरिएको पिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष जोशीको भनाइ छ ।

नेपाल प्रवेश गर्ने मालवाहक गाडीमा स्यानिटाइजर छर्किँदै

कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट नेपाल भित्रिने मालवाहक गाडी र तिनका चालक, सहचालकलाई स्यानिटाइजर छर्किने व्यवस्था आजबाट शुरु गरिएको छ । नेपाल इँटा उद्योग महासङ्घको पहलमा इँटा व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारतबाट आउने अतिआवश्यकीय सामान ढुवानी गर्ने सवारी साधन, चालकलाई स्यानिटाइजर छर्किने व्यवस्था गरिएको नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य दीप ऐरले जानकारी दिए ।

“स्यानिटाइजर छर्कनका लागि झण्डै रु एक लाख ५० हजार खर्च भएको छ”, उनले भने, “अझै आवश्यकता बढेमा यसको व्यवस्थापनका लागि थप सहयोग गर्न हामी तयार छौँ । भारतका विभिन्न स्थानबाट प्रदेशका लागि अतिआवश्यकीय खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तु भित्रिइरहेका छन् ।

भारतका विभिन्न प्रान्त तथा ठूला शहरलगायतका स्थानमा कोराना भाइरसको सङ्क्रमण अझै बढिरहेकाले त्यहाँबाट नेपाल भित्रिने मालवाहक सवारी, चालकलगायतमा पूर्वसतर्कता अपनाउन जरुरी देखिएकाले स्यानिटाइजर छर्किने व्यवस्था गरिएको इँटा व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशले जनाएको छ । स्यानिटाइजर छर्कनका लागि चाहिने आवश्यक औषधि (लिक्विड) भने धनगढी उपमहानगरपालिकाबाट उपलब्ध भएको बताइएको छ ।

राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काँग्रेस चुरे गाउँ समितिले शुक्रबार चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरलाई खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । काँग्रेसका क्षेत्र नं ४ का सभापति दिनेशराज जोशी, वडाध्यक्ष कृष्णमल्ल नेपालीलगायतको टोलीले आफैँ व्यक्तिगतरूपमा रकम उठाएर गाउँपालिकाका अध्यक्ष मगरलाई खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

काँग्रेसका नेता कार्यकर्ताले स्वःस्फुर्तरूपमा उठाएको सहयोग रकमबाट २० क्विन्टल चामल, ८० किलो दाल, ८० लिटर तेल, ५०० थान मास्क र एक थान पिपिइ हस्तान्तरण गरिएको चुरे गाउँ समितिका सभापति डिलबहादुर भाटले बताए। लकडाउनका कारण विपन्न, असहायको घरमा चुलो जलाउन नसक्ने अवस्था भएकाले खाद्यान्न सहयोग गरिएको गाउँ समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *