आजको मुख्य समस्या वैचारिक एवं सांस्कृतिक स्खलन होः प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र आन्दोलनको आजको मुख्य समस्या वैचारिक एवं सांस्कृतिक स्खलन भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा शुभकामना दिँदै प्रवक्ता श्रेष्ठले वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान छेड्न कार्यकर्तालाई आग्रह समेत गरे।

‘हाम्रो पार्टी र आन्दोलनको आजको मुख्य समस्या वैचारिक एवं सांस्कृतिक स्खलन हो। कान्तिकारी विचारमा स्पष्ट एवं दृढ नबनी र निजी स्वार्थ केन्द्रित सबैखाले भ्रष्टिकरणको विरुद्ध संघर्ष गर्ने साहस नगरी पार्टी एवं आन्दोलनको रक्षा गर्न सकिन्न। अतः वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान छेडौँ,’ उनले ट्विटरमा लेखेका छन्।

भ्रष्टिकरणको विरुद्ध संघर्ष गर्ने साहस नगरी पार्टी एवं आन्दोलनको रक्षा गर्न नसकिने उनले बताए। व्यक्तिवाद, विधि पद्धतिको अवज्ञा र मूकदर्शकता बुझ्नुपर्ने आवश्यकता प्रवक्ता श्रेष्ठले औँल्याए। ‘सांस्कृतिक भ्रष्टिकरण भनेको आर्थिक भ्रष्टाचार मात्र होइन। पद, सत्ता शक्ति र निजी स्वार्थलाई केन्द्रमा राखेर आचरण गर्नु वा त्यसको कारणबाट बेठिकको विरुद्ध सत्य एवं ठिकको पक्षमा उभिन नसक्नु पनि सांस्कृतिक ह्रास हो। व्यक्तिवाद, विधि पद्धतिको अवज्ञा र मूकदर्शकता यसका परिणाम हुन्। बुझौँ, फेरौँ,’ उनले भनेका छन्।

उनले सबै कम्युनिस्ट क्रान्तिकारीहरूलाई योग र ध्यानलाई नियमित रूपमा अभ्यास गर्न पनि अनुरोध गरे। प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘म सबै कम्युनिस्ट क्रान्तिकारीहरूलाई योग र ध्यानलाई नियमित रूपमा अभ्यास गर्न पनि अनुरोध गर्दछु। योग आसन मात्र होइन। योग, ध्यान मान्छेको अन्तर्यात्रा र त्यसको विधि हो। यो ईश्वर वा धर्मसँग जोडिएको विषय होइन, विज्ञानसम्मत छ। यसले कम्तीमा स्वरूपान्तरण र कार्यक्षमता वृद्धिमा सहयोग गर्छ नै।’

उनले सदा कम्युनिस्ट भइरहन र समाजवाद निर्माणको क्रान्तिकारी उद्देश्य पूरा गर्ने प्रक्रियामा लागिरहन शुभकामना दिएका छन्। श्रेष्ठले पार्टी एकताको रक्षा गर्न र समाजवाद उन्मुख समृद्धिको लक्ष्य हासिल का लागि संकल्प गर्नसमेत आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *