सप्तरीमा सङ्क्रमित बसेको क्षेत्र पत्ता लगाउँदै परीक्षण

सप्तरी । सङ्क्रमितहरु बसेको सप्तरीको दुई नगरपालिकामा २१७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । सङ्क्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि मंगलबार कञ्चनरुप नगरपालिका–१२ मा आरडीटी परीक्षण शुरु गरिएको छ ।

दयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना सङ्क्रमित भुल्केभन्दा पहिले बसेको सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा २१७ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

आफ्नो समुदायभित्र इस्लाम धर्मको प्रचारप्रसार गर्न हिँडेका जमातीहरु सप्तरीको विभिन्न मस्जिद हुँदै उदयपुर पुगेको पत्ता लाग्दै गएपछि सो क्षेत्रमा तीव्रतासाथ आरडीटी परीक्षण गर्न लागिएको हो । सप्तकोशी नगरपालिकाको मस्जिद रहेको वडा नम्बर १, २ र ४ मा १७१ जनाको परीक्षणपछि कञ्चनरुप नगरपालिकामा–२ बरमझियामा २७ जनाको परीक्षण सकिएको छ ।

यसैगरी कञ्चनरुपको क्वारेन्टाइनमा रहेका ६ र इलाका प्रहरी कार्यालय कञ्चनरुपको थुनाका १० जनाको परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपले जनाएको छ । उदयपुरको बेलटारबाट सप्तरीको बाटो हुँदै रातको समयमा भागिरहेका तीन भारतीयलाई नियन्त्रणमा लिई सोमबार राति आरडीटी परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले बताए।

उनीहरुलाई कञ्चनरुप–५ बाट कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी ब्यारेकको सेनाले खेतमा समातेका थिए । कञ्चनरुप नगरपालिका–२ स्थित मस्जिदमा बस्नु अघि कञ्चनरुप नगरपालिका १२ चर्खियास्थित मस्जिदमा बसेको पत्ता लागेपछि अहिले स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि सो स्थान पुगेका छन् । अहेव गुप्ताका अनुसार पहिलो चरणमा चर्खिया क्षेत्रमा सङ्क्रमित जमातीको प्रत्यक्ष सम्पर्कमा आउने २३ जनाको आरडीटी परीक्षण गरिने छ ।

हालसम्म सप्तरीमा ४० जनाको स्वाब र ५४१ जनाको आरडीटी परीक्षण भएको छ । आरडीटी परीक्षण गर्नेमा ६४ महिला र ४७२ पुरुष छन् । २३ जनाको परीक्षण गर्ने लक्ष्यका साथ शुरु गरिएको कञ्चनरुप नगरपालिका–१२ मा अहिले परीक्षण शुरु भइसकेको छ । पिसिआर विधिबाट कोरोना सङ्क्रमणको रिपोर्ट आउन बाँकी सप्तरीको २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति पठाइएको २२ जनाकै रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । आरडीटी परीक्षणमा पोजिटिभ आएका ७१ वर्षीय एक जेष्ठ नागरिकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनको परिवारका साथै गाउँलेहरु खुशी भएका छन् । हाल स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा १३१ र होम क्वारेन्टाइनमा २२ जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *