विद्युतिय चुल्होमा खाना बनाउनेलाई विद्युत महसुलमा २० प्रतिशत छुट !

चैत्र १३, काठमाडौं । विद्युत प्राधिकरणले विद्युतिय चुल्हो (इन्डक्स) मा खाना पकाउनेलाई विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । 

इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जा, जलश्रोत तथा सिंचाईँ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत् निर्देशन दिएका हुन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म छुट दिन मन्त्री पुनको निर्देशन छ । 

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो । यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ’, मन्त्री पुनले भने । 

मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह गर्दै उनले भने, ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ । छुटपछि त झन् सस्तो पर्न आउँछ ।’ 

कोरोना भाइरसको संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ । 

विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्री पुनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले बताएका छन् । 

सरकारले कोरोनाको जोखिमलाई मध्येनजर गर्दै मंगलबारबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको थियो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । 

लकडाउनको अवस्थामा सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन । 

विश्वभर हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ भने नेपालमा ३ जना संक्रमित छन् । एकजना उपचारपछि निको भइसकेका छन् । 

गएको २४ घण्टामा सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । 

कोरोना संक्रमणको कारण सबैभन्दा बढि इटालीमा मर्नेहरुको संख्या रहेको छ । त्यहाँ अहिलेसम्म ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् । 

छिमेकी मुलुक भारतमा बुधबारसम्ममा कोरोना संक्रमितको संख्या ६३१ पुगेको छ । भारतमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *