‘बिहेवारी, बीस वर्षपारि’ लाई व्यवहारिकतामा ढाल्दै

  

  

फाेटाेः गुगल 

Image result for बालविवाह

चैत्र ४, पाल्पा । बालविवाह न्यूनीकरणको उद्देश्यका साथ नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि उमेर नपुग्दै विवाह गर्ने क्रम भने रोकिएको छैन ।  

परिपक्व नभई हुने विवाहसँगै त्यसले निम्त्याएका शारीरिक जोखिम त छँदै छन् यसले सामाजिकरूपमा पनि असर पारिरहेको छ । यिनै वास्तविकतालाई दृष्टिगत गरी बालविवाह न्यूनीकरणका लागि पाल्पाको रामपुरमा सचेतना अभियान थालिएको छ । 

रामपुर नगरपालिका–६ को कार्यालयले ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइबारे सचेत गराउँदै विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न थालेको हो । वडा कार्यालयले विद्यालयमा पुगेर बालबालिकालाई बालविवाहबारे सचेत गराउँदै विभिन्न कार्यक्रम गर्ने गरेको छ । 

यहाँका दरैठाँटी माविमा यस वर्ष एक जना विद्यार्थीको विद्यालय उमेरमा नै विवाह भयो । त्यस्तै नवदुर्गा माविमा उमेर नपुग्दै गत वर्ष दुईले विवाह गरेर घरजम गरेका छन् । यो अवस्था देखेर वडा कार्यालयले उमेर नपुग्दै विवाह हुने दरलाई कम गर्न बालविवाह सचेतना अभियान चलाएको हो । 

‘म र मेरो समाजको भूमिका, बालविवाह’ जस्ता शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरी बालविवाह न्यूनीकरणको अभ्यासमा लागेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । ‘बालविवाह न्यूनीकरण गरी शून्यमा पु¥याउन हामीले पहिला विद्यालयबाट अभियान शुरु गरेका छौँ’, उनले भने, ‘निबन्ध लेख्न लगाउने र पुरस्कृत गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ ।’ 

विद्यालयबाट शुरु भएको कार्यक्रम अभिभावक हुँदै सरोकारपक्षसम्म निरन्तर सञ्चालन गर्ने जानकारी दिँदै उनले वडामा बालविवाहको दर शून्यमा पु¥याउने लक्ष्यका साथ लागेको बताए । बालविवाह न्यूनीकरणसम्बन्धमा वडाले विद्यालयमा आएर गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए । 

‘बालविवाह न्यूनीकरण गर्न वडाले विद्यालयमै कार्यक्रम गर्न आएपछि विद्यार्थी सचेत बनेका छन्, विद्यार्थीको सहभागिता राम्रो रहेको हुँदा यो कार्यक्रम एउटा वडामा मात्र नभई नगरका सबै वडाले गर्नुपर्छ’,  प्रधानाध्यापक देवकोटाले भने । 

प्रत्येक वडा कार्यालयले वडाभित्रका विद्यालयमा गएर बेलाबेलामा बालविवाह न्यूनीकरणका सन्दर्भमा विभिन्न कार्यक्रम गरेको खण्डमा शून्यमा नै पुर्याउन सजिलो हुने उनको भनाइ छ । सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा सङ्गीता बस्यालले निबन्ध लेखनलगायतका विभिन्न बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम हुन थालेपछि विद्यार्थीमा उमेर नपुग्दै विवाह गर्नु हुँदैन भन्नेमा सबै सचेत रहन थालेको बताउँछन् । 

यस्ता सचेतनामूलक कार्यक्रम बेलाबेलामा सञ्चालन गरी विद्यार्थीलाई नै सचेत गराइयो भने बालविवाह कम हुँदै जाने अर्का छात्रा सुप्रिया गैरेले बताए । वडाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रतिविद्यार्थी रु एक हजार ५०० का दरले स्वास्थ्य प्रर्वधन पौष्टिक सामग्री पुरस्कारका रूपमा दिइने गरेको छ । 

वडा कार्यालयबाट गरिएको कार्यक्रम असाध्यै राम्रो र बालविवाह न्यूनीकरण गर्न सहयोगीमूलक रहेको नवदुर्गा माध्यमिक विद्यालयका शिक्षक दीपेन्द्रप्रसाद भट्टराईले बताए । बालविवाह बढी हुने समुदायका अभिभावक, विद्यार्थीलाई नै सँगै राखेर सचेतनामूलक कार्यक्रम गरेमा झन प्रभावकारी बन्ने उनको भनाइ छ । 

‘शिक्षकले कक्षाकोठामा पढाउँदा बालविवाह गर्नुहुन्न भनेर शिक्षा दिए पनि अझै पनि जनजाति, आदिवासी, दलित समुदायमा यदाकदा कायमै छ, वडा कार्यालयले विद्यालयमा गएर बालविवाह न्यूनीकरण अभियान चलाउन थालेपछि केही हदसम्म कमी आउन थालेको छ’, उनले अनुभव सुनाए । 

अझै पनि अभिभावकमा उमेर नपुग्दै छोराछोरीको विवाह गर्नुहुन्न भन्ने मानसिकतामा परिवर्तन नआउँदा पनि बालविवाहको दरलाई शून्यमा पुर्याउन सकिएको छैन । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =