कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रसँग समन्वय गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सार्क सदस्यहरुसँग समन्यवय गर्न तयार रहेको बताएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्न प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीको उक्त वक्तव्य आएको हो ।   

मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा उपचारकै क्रममा रहेका प्रधामन्त्री ओलीले शुक्रबार ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।   

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीले गरेको आह्वानलाई समर्थन गर्दै यस्तो ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा भनेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ।’ 

यसअघि शुक्रबार मोदीले ट्विटरमार्फत कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गरेर विश्वलाई उदाहरण पेस गर्न प्रस्ताव गरेका थिए। 

यसका लागि सार्कका नेताहरुले भिडियो कन्फेरेन्समार्फत छलफल गर्नसक्ने उनले बताएका थिए। 

यसअघि प्रधानमन्त्री मोदीले पाकिस्तान समेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए । पाकिस्तानमा प्रस्ताव गरिएको १९ औं सार्क शिखर सम्मेलनलाई समेत भारतले बेवास्ता गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =