‘अनगोईङ–प्रोजेक्ट’ मा सरकारले थप लगानी गर्नुपर्छ: प्रा. डा. प्याकुरेल

फागुन ३०, काठमाडाैँ । अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकोले यसबाट नेपाललाई पनि असर परिहेको बताएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘विश्वका १९५ देशमध्ये १२० देशमा कोरोना फैलिसकेको छ । चीनपछि ईटालीमा सबैभन्दा धेरै यसले क्षति पुर्याएको छ । कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट परेको छ । चीन आफैंमा पनि विश्वभरि म्यानुफ्याक्चरिङको हब मानिन्छ । उसले यसमा २० प्रतिशत हिस्सा ओगटेको छ । भारत स्वयम अहिले प्रभावित छ । त्यसैले कोरोनाको कारण अहिले मल्टिपोलार अफेक्ट परेको छ ।’ 

प्याकुरेलले कोरोनाका कारण कतारले नेपालसहित १४ देशलाई प्रतिबन्ध लगाएको बताउँदै यसबाटपनि नेपाललाई ठूलो असर परेको बताए । उनले भने, ‘अहिलेपनि नेपालमा ५ वटा गल्फ कन्ट्रीबाट ५० प्रतिशत रेमिट्यान्स भित्रिएको छ । अहिलेपनि ठूलो संख्यामा नेपालीहरु भिसा लिएर र कोही विदामा आएकाहरु जाने तयारीमा थिए । ती सबै अहिले जान नपाउने भएका छन् । कतारबाट मात्रै नेपालमा १८ प्रतिशत रेमिट्यान्स आउने गरेको तथ्यांक छ ।’ 

एडिबीले पनि नेपालको जिडीपीमा ठूलो ह्रास आउने भनेर आफ्नो रिपोर्ट निकालिसकेको उनले सुनाए । उनले भने,‘एडिबीले अहिलेको अवस्थामा पनि नेपालको जिडिपी २.०४ प्रतिशतले घट्ने आँकलन गरेको छ ।’ उनले डलरको भाउ बढ्दापनि नेपाललाई ठूलो असर पर्ने बताए । नेपालले लिएको ऋण डलरमै तिर्नुपर्ने भएकोले यसको नेपाललाई प्रत्यक्ष असर पर्ने उनको तर्क छ ।   

उनले साना तथा मझौला उद्योगलाई समेत सरकारले केही राहत दिनुपर्ने सुझाव दिए । त्यस्तै, पर्यटन क्षेत्रमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘स्टार रेटेड होटलहरुले पनि आफ्नो स्टाण्डर्ड मेन्टेन गर्नैपर्छ, क्वालिटीमा कुनै सम्झौता गर्नुहुँदैन् ।’–उनले भने । उनले सरकारले वित्तिय सुधार ल्याउनुपर्नेमा जोड दिए ।  उनले पुँजीगत खर्च ६ महिनासम्म १५ प्रतिशतपनि खर्च नभएको सुनाउँदै बढाउन समस्या नभएको तर्क गरे ।   

अहिलेको अवस्थामा अनगईङ प्रोजेक्ट (चालु परियोजना) मा थप समय र खर्च लाग्ने भएकोले यी परियोजनामा सरकारले थप लगानी गर्नुपर्नेमा जाेड दिँदै उनले भने,‘सरकारले खर्च गर्ने कुरामा बढि जोड दिनुपर्छ । एक्सप्यान्सन फिस्कल पोलिसीपनि ल्याउने हो कि ?’ अहिलेको अवस्थाको मध्येनजर गर्दै स्वास्थ्य मन्त्रालयलाई केही पैसा पनि दिनुपर्ने उनको भनाई छ । तर, पैसा दिन शशर्त दिनुपर्ने पनि उनको तर्क छ ।   

कतिपय राष्ट्रले नियमित बजेट ल्याउने मितिपनि सार्नेबारे तयारी गरेको सुनाउँदै यसतर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने,‘कोरोना भाइरस कहिलेसम्म रहन्छ भन्ने कुरा थाहा छैन्, विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन भनिसकेको छ ।’ सरकारले पर्यो भने आफ्नो ढुकुटीबाट पैसा पनि खर्च गर्न सक्नुपर्ने प्याकुरेलले तर्क गरे ।   

विश्व स्वास्थ्य संगठनले पनि आफ्नो आधिकारिक वेबसाईटमा कोरोनाबारे केही कुराहरु राखेकोले त्यसलाई फलो गर्न उनले सुझाए । उनले भने, ‘गलत सूचना प्रवाह नगरौं, कतिपयले सरकारी निकायले नै गलत सूचना प्रवाह गरेको देखियो । यसको लागिपनि सरकारले एउटा प्राविधिक समिति गठन गर्नुपर्छ । र, सोहीअनुसार सूचना प्रवाह गरौं ।’ उनले प्रधानमन्त्री कार्यालयमात्रै धेरै अधिकार थुपारेर प्रभावकारी काम नहुने जिकिर गरे । उनले भने,‘ भएभरको सबै अधिकार त्यहाँ थुपारेरमात्रै यो मुलुक चल्दैन् ।’ 

त्यस्तै, उनले हरेक ठाउँमा सरसफाईको अभियान चलाउनुपर्ने पनि धारणा राखे । उनले भने,‘ठाउँ ठाउँमा स्यानीटाईजेशनको व्यवस्था गर्नुपर्छ । फ्रि–मेडिकल सर्भिसको व्यवस्था गर्नुपर्छ । कोरोनाबाट प्रभावितहरुको लागि उपचारमा ध्यान दिउँ, निमोनिया, रुघाखोकी, ज्वरो देखिएपनि उनीहरुलाई समयमै उपचार गर्नुपर्छ । यो काममा सबैले हातमालो गर्नुपर्छ ।’   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *