कोरोनाको उपचारमा सुरक्षा सामग्री नदिएको भन्दै वीपी प्रतिष्ठानका स्टाफ नर्स आक्रोशित

चैत्र १७, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स तथा कर्मचारीहरु पीपीई नपाउँदा आक्रोशित भएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिँदा प्रतिष्ठानले आवश्यक सुरक्षाका वस्तुहरु उपलब्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।   

कोरोना संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट उपलब्ध नगराउँदा आफ्नो तथा परीवारकै स्वास्थ्य जोखिममा परेको स्टाफ नर्सहरुले बताएका छन् । 

आइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपतिलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले आफुहरु सामान्य मास्क लगाएर काम गरिरहेको बताएका छन् ।   

प्रतिष्ठानका नर्सहरुले प्रतिष्ठानसमक्ष चाँडोभन्दा चाँडो पीपीई उपलब्ध गराउन माग गरेका छन्भने आफ्नो तथा परीवारको समेत स्वास्थ्य विमाको माग गरेका छन् । हिजो आइतबार उनीहरुले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई लिखित निवेदन दिँदै  सुरक्षा सामग्री उपलब्ध गराउन माग गरे ।   

‘हामीले अहिलेसम्म आफ्नो स्वास्थ्य जोखिममा राखेरै उपचार सेवामा खटिइरहेका छौं, तर, हामीमात्र हैन परिवारको स्वास्थ्यमा पनि जोखिममा परेको छ ।’ प्रतिष्ठानकी एक स्टाफ नर्सले भनिन् । स्टाफ नर्सहरुले प्रतिष्ठानले गुणस्तरीय मास्क समेत उपलब्ध नगराएको बताएका छन् । ‘सर्जिकल मास्क पनि दुई दिनसम्म लगाउनु परिरहेको छ । सेनिटाइजर पनि छैन ।  भोली केही भइहाले कसले जिम्मा लिन्छ ?’ अर्की स्टाफ नर्सले भनिन् । 

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.खनालले उपचारमा खटिइएका सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन प्रतिष्ठान लागिपरेको भएपनि पीपीई सबैतिर अभाव भएकोले समस्या भइरहेको बताए । उनले सरकारसँग पीपीई माग गरिरहेको बताउँदै प्रतिष्ठानमा सुरक्षासामग्री आउने वित्तिकै कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई उपलब्ध गराउने बताए । यता प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले वार्डमा सर्जिकल मास्क र ग्लोब्स भएपनि हुने भएकोले ती सामग्री उपलब्ध गराईरहेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *