कोरोना भाइरसको कारण इरानमा ५४ हजार कैदी रिहा

फागुन २१, काठमाडाैँ ।  कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि इरानले करिब ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । 

जुन जेलमा कैदीको संख्या अत्यधिक छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो कदम उठाइएको हो । न्यायपालिकाका प्रवक्ता घोलमहुसैन इस्मालीले पत्रकारसँगको कुराकानीमा यी कैदीको स्वास्थ्य परीक्षण गरिएको र नतिजा नकारात्मक पाइएको जानकारी दिए । उनीहरुलाई जमानतमा अस्थायी रुपमा रिहा गरिएको उनले बताए । 

यद्यपि, ‘सिक्योरिटी प्रिजनर्स’ जसलाई पाँच वर्षभन्दा बढी सजाय सुनाइएको छ, उनीहरुलाई छोडिएको छैन । ब्रिटिश–इरानी च्यारिटी वर्कर नाजनीन जघारी–र्‍याटक्लिफलाई पनि निकै चाँडै नै छोडिनेछ । 

नाजनिनका श्रीमान्ले शनिबार भनेका थिए, ‘मलाई पूर्ण विश्वास छ कि मेरी श्रीमती कोरोना भाइरसले ग्रसित छिन् । उनी यतिबेला तेहरानको एविन जेलमा छिन् ।’ यद्यपि, अधिकारीले उनको स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेका छन् । 

नाजनिनलाई जासुसीको आरोपमा दोषी ठहर गरेपछि सन् २०१६ मा पाँच वर्षको सजाय सुनाइएको थियो । ब्रिटेनले उनी निर्दोष भएको बताउँदै आएको छ । इरानका थुप्रै अधिकारीसमेत कोरोना भाइरसद्वारा संक्रमित छन् । इरानी संसदको २ सय ९० सदस्यमा २३ जनाको रक्त परीक्षण सकारात्मक देखिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *