भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले भने – ‘म छिट्टै स्वस्थ भएर काममा फर्किन्छु’(भिडियोसहित )

फागुन १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मिर्गौला प्रत्यारोपण गरेर छिट्टै स्वस्थ भएर नियमित काममा फर्कने बताएका छन्।   

सोमबार मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि भिडिओ सन्देशमार्फ उनले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित फर्किने बतएका हुन् ।   

‘मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ उनले भने, झण्डै १२ वर्षअघि मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएको र अब आगामी फागुन २१ गते बुधबार फेरि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउँदैछु ।’   

त्यसको चिकित्सकीय तयारीका लागि आजै त्रि वि शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुँने जनाएका छन् ।  

भिडियो : 

https://youtu.be/QdB1RL6TNI8 

मृगाैला प्रत्याराेपण गर्न अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भिडियो सन्देश (पूर्ण पाठ)   

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, 

मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा वित्दै आएको छ । कहिले निरङ्कुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । 

मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसंग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ । यसै सन्दर्भमा, आज भन्दा झण्डै १२ बर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणको सुविधा थिएन । 

पर्सी फागुन २१ गते बुधवार फेरि मैले मृगौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु । 

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु । 

भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरु सबैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । 

म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल बसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । यस बीचमा सरकारका तर्फवाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छन् । विश्वलाई नै पिरोली रहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु । 

मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु । 

मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । 

धन्यवाद । 

१९ फागुन, २०७६बालुवाटार 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *