सङ्घीय निजामती सेवा विधेयक अन्योलमै, तेस्रो पटक पनि समय मागे मन्त्री त्रिपाठीले

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा अझै सहमति जुट्न सकेको छैन । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रोकिएको संघीय निजामती सेवा विधेकमाथि आइतबार बसेको बैठकले पनि सहमति जुटाउन सकेन ।
विधेयकमाथि सहमति जुटाउन यस अघि पनि पटक पटक समय थप माग्दै आएका मन्त्री हृदयेश त्रिपाठीले यसपटकको बैठकमा पनि कुनै सहमति नगरी बैठक स्थगित गरिएको हो ।
मन्त्री त्रिपाठीले राजनीतिक तहमा पनि छलफल गरिरहेको भन्दै तेस्रो पटक पनि समितिसँग थप समय मागेका छन् ।

तर समितिले मन्त्री त्रिपाठीलाई दुई दिनको समय दिएको छ । दुई दिनमा सहमति जुटाएर आगामी ५ गतेको बैठकमा आउन मन्त्री त्रिपाठीलाई समितिले आग्रह गरेको छ ।
आजको बैठकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघबाट खटाउने कि प्रदेशको हुने भन्ने विषयमा छलफल भएको थियो । तर सहमतिमा आउन नसकेपछि बैठक स्थगित भएको छ ।
विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने व्यवस्था छ ।
गत वर्ष माघ २७ गते संसदमा दर्ता भएको यो विधेयक विवादित विषयमा सहमति हुन नसक्दा समितिमा विचाराधिन छ ।








