कोरोनाले उड्डयन क्षेत्रमा असर, यात्रु ४० प्रतिशतले घटे

फागुन २३, काठमाडौं । वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमको हल्लाले विदेशी पर्यटक आगमन घटेको तथा आन्तरिक यात्रुको चहलपहल पनि कम भएकाले हवाई सेवा प्रभावित भएको जनाएको हो । 

छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै सङ्घले आन्तरिक वायुसेवा कम्पनीको समेत व्यापार घटेको जनाएको छ । 

विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै सङ्घले सोहीकारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

“सङ्घको यही २२ गते भएको बैठकले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको सङ्ख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिना तलब छुट्टिमा जान प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्नेसमेतका कार्य गरिने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ । विगतमा सङ्कटको बेला सबैले साथ दिएको इतिहास रहेकाले अहिले परिस्थितिको सामना गर्न पनि साथ र सहयोग प्राप्त हुने सङ्घले विश्वास लिएको छ । 

नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब रु चार अर्ब क्षति हुने सङ्घले अनुमान गरेको छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ । 

वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ । हवाई इन्धनमा सरकारले लगाएको मुल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउन समेत व्यवसायीले अनुरोध गरेका छन् । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *