पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपतिलाई चुनौतिका चाङ

फागुन २०, काठमाडौं । लामो समयदेखि रिक्त रहेको पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा विराटनगरका प्राध्यापक डाक्टर यादवराज कोइरालालाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा डा. कोइरालालाई आइतबार नियुक्त गरेका हुन् ।   

पूर्वाञ्चल विश्वविद्यालय केही वर्ष यता चरम भ्रष्टाचार र राजनीतिकरणबाट गुज्रिरहेको छ । ६ महिनादेखि नेतृत्व विहिन विश्वविद्यालयको संबद्र्धन र विस्तारमा डा. कोइरालालाई ठूलो चूनौति छ । खासगरी शैक्षिक, राजनैतिक, आर्थिक र कर्मचारीतन्त्रलाई एकै साथ मिलाएर लैजान नवनियुक्त उपकुलपतिलाई ठूलो चुनौति रहेको बुझिएको छ ।   

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुमा दलिय भागवण्डामा पदाधिकारी नियुक्ति गर्ने प्रावधान अनुरुप डा. कोइराला आएपनि विश्वविद्यालयमा उनलाई सफल बनाउने भन्दा असफल बनाउनेहरुको जमात ठूलो रहेको छ । ‘यहाँ काम गर्ने भन्दापनि विश्वविद्यालयलाई ‘लैनो भैसी बनाएर दुहुने’ हरुको बाहुल्यता छ ।’ पूर्वाञ्चल विश्वविद्यालयकै एक पूर्वप्राध्यापक भन्छन्- ‘उहाँले पूर्वाञ्चल विश्वविद्यालयको कायापलट नै गर्छु भनेर कार्यक्रम बनाएपनि सफल हुँन दिँदैनन् ।’ 

डा. कोइरालालाई प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गर्न जाने अघिल्लो दिन हतारहतार नियुक्त गरेकोमा विश्वविद्यालयका कतिपय पदाधिकारी र त्रिभुवन विश्वविद्यालयकै प्राध्यापकहरु असन्तुष्ट छन् । प्रधानमन्त्रीले राम्रालाई भन्दा हाम्रालाई ठूला पदमा पुर्याएको भन्दै असन्तुष्टि बढेको छ ।   

विराटनगरका डा. कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयको समस्या बुझेका कारण नियुक्ति दिइएको भनिएपनि राजनीतिक कोपभाजनको चक्रमा परेको विश्वविद्यालयलाई बचाउन उनले ठूलै ‘पापड’ बेल्नुपर्ने प्राध्यापकहरु बताउँछन् । 

उनी यसअघि विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा उच्च शिक्षाको संस्था सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को परिमार्जन, विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित संस्थाहरुको प्रभावकारी अनुगमन, मूल्यांकन, परीक्षा प्रणाली लगायतका विषयमा अध्ययन र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमको समकक्षताका सम्बन्धमा विधि र प्रक्रिया विषयमा सुझाव पेश गर्न गठित कार्यदलका संयोजक भइसकेका ब्यक्ति हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =