कोरोना रोकथाम र उपचारका लागि कस्तो छ सरकारको तयारी ?

काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न उच्च सतर्कता अपनाएको छ। सम्भावित कोरोना संक्रमितको उपचारका लागि सरकारले पूर्व तयारीसमेत थालेको छ।   

संक्रमण रोक्न आवागमन नियन्त्रण गर्ने र संक्रमण भइहालेका परीक्षण र उपचारको प्रबन्ध मिलाउन प्रयत्न सरकारले गरिरहेको छ। जसअन्तर्गत स्वास्थ्यकर्मीलाई प्रोत्साहनदेखि अस्पताल, आइसोलेशन बेड बनाउनेसम्मका कामहरू भइरहेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसबाट संक्रमित देखिएमा सुरक्षित उपचारका लागि सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली परिचालन गर्ने निर्णय गरेको छ। 

संक्रमित व्यक्तिको सुरक्षित उपचारमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिने सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताए। उनले संक्रमित व्यक्ति व्यक्ति अनुशासनमा नबसी भाग्दा अन्यमा सर्न सक्ने जोखिमलाई मध्यनजर गरेर सुरक्षाकर्मी सहितको संयुक्त टोली परिचालन गर्ने निष्कर्षमा सरकार पुगेको बताए।   

कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरूलाई पाँच वटा अस्पतालमा चेकजाँच तथा उपचार गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बीपी प्रतिष्ठान, धुलिखेल अस्पताल, सशस्त्र प्रहरी र टेकु अस्पतालमा कोरोना आशंका भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले जानकारी दिए। यसअघि कोरोनाका आशंकामा बिरामीको टेकु अस्पतालमा मात्रै उपचार हुँदै आएको थियो।   

उपचारको पूर्व तयारी अन्तर्गत सरकारले यसअघि सङ्घ र प्रदेशमा गरी २ सय ३५ वटा आईसीयू बेडहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो। १ हजारको सङ्ख्यामा आइसोलेशन बेडहरु तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य मन्त्रालयले पिपिइ सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन ३ हजार थान खरिद गरी प्रदेशमा पठाउँदै छ। 

संक्रमणको शङ्का लागेमा नजिकको स्वास्थ्य चौकी, प्रहरी चौकी, जनप्रतिनिधिमार्फत उपचारमा जान सकिने उनले बताए। नेपालमा अहिलेसम्म एक जनालाई मात्रै कोरोनाको संक्रमण देखिएको थियो। उपचार पनि उनलाई पनि निको भइसकेको छ। 

संक्रमणको जोखिम बढेपछि विदेशमा बसेकाहरू नेपाल फर्केका छन्। सहरमा बसेकाहरू गाउँतिर गएका गएका छन्। भारतबाट आउनेहरूको सङ्ख्या पनि उत्तिकै छ। संक्रमणको जोखिम बोकेर आउनेहरू अधिकांश ग्रामीण भेगमा पुगेका छन्। यसैले संक्रमणको निगरानी गाउँमा पनि उत्तिकै प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ।   

कोरोनाको संक्रमण रोक्न सरकारले आजदेखि लागू हुने गरी देशैभर लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनसमेत बन्द गरिसकेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेपछि भारत र चीन दुवैतर्फका नाका बन्द गर्ने निर्णय समेत गरेको छ। सीमा नाकामा सरकारले सुरक्षा निकायलाई परिचालन गर्ने जनाइसकेको छ। मानिसको आवागमन बन्द गर्ने निर्णय गरेको जनाउँदै सरकारले मालसामानको हकमा भने यो लागू नहुने स्पष्ट पारेको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना विरुद्ध अनुशासन कायम गर्न सरकारले आग्रह समेत गरेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =