कोरोना उपचारमा आवश्यक उपकरण खरिदमा अनियमिता छैनः स्वास्थ्य मन्त्रालय

चैत १६, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ। यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ। 

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरे। अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उनले भने, ‘केही महंगो भएको हुनसक्छ। तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन।’ 

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ। तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ। 

लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव हालेको उनले जानकारी दिए। ‘हामीले टेण्डर खोल्यौं। कसैले पनि सामान दिनसक्ने अवस्था रहेन। त्यसपछि हामीले स्वास्थ्य मन्त्रालयमा सामान आपूर्ति गर्ने सबै व्यापारीलाई बोलाएर जोसँग जति सामान छ त्यो व्यवस्था गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘हामीले आफैं विमान पठाएर सामान ल्याइदिन्छौं भन्दा दुईजनाले मात्रै सामान दिनसक्ने बताउनुभयो। त्यसपछि हामीले नेगोसियसन गरेर सहमति गरेका हौं।’ 

तर अहिले महंगो भयो, भ्रष्टाचार हुन लाग्यो भनिएको भन्दै उनले सरकारले किनेको र चीनका संघसस्थाले दिएको मूल्य तुलना गरे। ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ। यो भनेको करिव २ हजार रुपैयाँ पर्छ। हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं,’ श्रेष्ठले भने। संसारभर अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने बताए। 

यस्तै उनले पूर्वमा कोरोना परीक्षणका लागि वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिइएको र अन्य स्थानमा पनि छिट्टै प्रयोगशाला तयार गरेर जिम्मा दिइने जानकारी दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *