नेकपा सचिवालय बैठक : लाग्ला राष्ट्रियसभा सदस्यको टुङ्गो ?

फागुन १८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि डाकिएको बैठकमा राष्ट्रियसभा सदस्यमा कसलाई लैजाने भन्ने विवादित विषयमा छलफल हुने श्रोतले बतायो ।
गत बुधबार नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने विषयले अहिले नेकपामा कलह भइरहेको छ । गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयलाई लिएर प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओली रुष्ट बनेका छन् ।
प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
तर, ओली बाहेक सचिवालयका अधिकांश सदस्य भने गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने अडानमा छन्। सोही विषयमा आज सचिवालय बैठकमा छलफल हुने बुझिएको भएपनि महासचिव विष्णु पौडेलले समसामयीक विषयमा छलफल हुने जानकारी जानकारी मात्र आएका बताएका छन् ।








