न्यूयोर्कमा नियन्त्रित इलाका घोषणा, बेलायतकी स्वास्थ्यमन्त्रीमा कोरोना

फागुन २८, काठमाडौं । अमेरिकामा न्यूयोर्कमा कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ ।न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले सो प्रतिबन्ध लगाएका हुन् ।
न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने सङ्ख्या फेरि बढेको छ। जहाँ कडा प्रतिबन्ध जारी छ । न्यूयोर्क सहरको तुलनामा निकै कम जनसङ्ख्या रहे पनि त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या धेरै नै बढी भेटिएको गभर्नरको भनाइ छ ।
स्वास्थ्यमन्त्रीमा सङ्क्रमण

बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन् । स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन् । स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन् । ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ । ६ जनाको मृत्यु भएको छ ।








