कोरोना प्रकोप : नाकाहरूमा जोखिमपूर्ण आवागमन, के छ खबर परदेशीको ?

चैत ९, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि भइरहेका प्रयास र कमजोरीका विषयका समाचार प्रकाशित गरेका छन् । 

नयाँ पत्रिकाले विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको समाचार फ्रन्टपेजमा प्रकशित गरेको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् । 

परदेसिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन् । गत आर्थिक वर्ष उनीहरूले आठ खर्ब ७९ अर्ब रेमिट्यान्स पठाएका थिए । यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ ? देशले सोध्ने वेला भएको छ ।   

विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई)मा दुईजनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् । बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि २० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने, ‘यीबाहेक अरू देशमा नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी नेपाल सरकारलाई प्राप्त भएको छैन ।’  

पछिल्ला दिन कोरोना संक्रमणले युरोपको इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा करिब पाँच हजार नेपाली छन् । तर, त्यहाँ नेपाली सुरक्षित रहेको पौड्यालले बताए । एनआरएनएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दवाडीका अनुसार इटालीको उत्तरी भेगका मिलान र लम्बाडी सहरमा नेपालीको बसोवास छ । कोरोना भाइरसको संक्रमण पनि त्यही क्षेत्रमा बढी देखिएको छ । अधिकांश नेपाली होटेल, रेस्टुरेन्ट क्षेत्रमा कार्यरत छन् । तर, युरोपमा नेपालीको बसोवास निश्चित भेगमा मात्र सीमित नरहेको दवाडीले बताए । ‘एउटा ठाउँमा भनेर गएका नेपाली युरोपका अर्को ठाउँमा बसेर काम वा व्यापार व्यवसाय गरेका छन् । तर, जहाँ रहे पनि एनआरएनएको समन्वयमै छन्,’  उनले भने ।  

बेल्जियममा पनि अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको रिपोर्ट छ । युरोपियन युनियन एवं बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियममा अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको बताए । ‘दूतावास नेपालीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको पाइएको उनले बताए । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका डिभिजनले त्यहाँका नेपाली समुदाय र सम्बद्ध सरकारसँग समन्वय गर्न दूतावासहरूलाई निर्देशन दिएको छ । 

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकलाई हाल भएकै स्थानमा रहन भनेको छ । प्रधानमन्त्री केपी ओलीले आवश्यक परे सम्बन्धित मुलुकको दूतावाससँग सम्पर्क गर्न आह्वान गरिसकेका छन् । परराष्ट्रको मध्य–पश्चिम एसिया तथा अफ्रिका डिभिजनसम्बद्ध अधिकारीका अनुसार भिसाको म्याद सकिएर अप्ठ्यारोमा परेको गुनासो आएको छैन ।  

खाडी मुलुकमा कार्यरत नेपालीलाई सम्बन्धित कम्पनीले नै सरकारी नीति कार्यान्वयन गर्न सहयोग गरिरहेका छन् । समस्यामा देखिएमा नेपालीलाई सम्बन्धित सरकारसँग समन्वय गरेर सहयोग गर्न परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई निर्देशन दिएको छ । उडान प्रतिबन्ध लागेको अवस्थामा नेपालीले सम्बन्धित देशमा सुरक्षित रूपमा बस्नुपर्नेबाहेक अरू विकल्प नभएको परराष्ट्रका अधिकारीको भनाइ छ ।  

‘नाकाहरूमा जोखिमपूर्ण आवागमन’ शीर्षकको समाचार कान्तिपुरले फ्रन्टपेजका प्रकाशित गरेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए । हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो ।  

कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन् ।  

‘एकै पटक यति ठूलो भीड आउला भन्ने हामीले सोचेकै थिएनौं । त्यसअनुसारको तयारी पनि थिएन,’ हेल्थ डेस्ककी इन्चार्ज निर्मला जोशीले भनिन्, ‘एक पटक त हामीलाई सास फेर्नसमेत गाह्रो भयो ।’ उनका अनुसार शनिबार १३ हजारभन्दा बढी नेपाली कामदार भारतबाट घर फर्किएका छन् । हेल्थ डेस्कमा अत्यावश्यक सामग्री र जनशक्तिको अभावका कारण प्रभावकारी स्वास्थ्य जाँच तथा भीड व्यवस्थापन गर्न नसकिएको उनले बताइन् । यहाँ बिहान ५ देखि साँझ ८ बजेसम्म जाँच भइरहेको उनले बताइन् । 

हेल्थ डेस्क राखिएको स्थानदेखि कञ्चनपुर भन्सारको ब्यारियरसम्मै यात्रुको भीड बढेपछि सुरक्षाकर्मीलाई समेत नियन्त्रण गर्न समस्या भएको थियो । उनीहरूलाई भन्सार कार्यालय परिसरमा राखेर जाँच गरिएको थियो । ‘त्यसपछि थर्मोमिटर पनि थप भयो, भीडभाड कम भएपछि सहज भएको छ,’ जोशीले भनिन्, ‘बिहान दुई/तीन घण्टा त निकै अप्ठेरो भयो ।’ जाँचका लागि यात्रुहरू घण्टौंसम्म लाइन लाग्नुपरेको थियो । 

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढंगले सजग भएको समाचार गोरखापत्रमा छ ।  स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुन पानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् ।   

स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामाग्री साबुन, मास्क, स्यानिटाइजर, पञ्जाजस्ता सामाग्रीको अभाव हुन नदिने गरी योजना बनाएका हुन् । आआफ्नो स्थानीय तहभित्र खाद्य सामाग्रीको कृत्रिम अभाव हुन नदिन जनप्रतिनिधिले निरन्तर अनुगमन गर्ने योजना स्थानीय तहले बनाएका छन् । 

अन्नपूर्णले नाकाबाट हुलका हुल शीर्षकको समाचार छापेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्। 

बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले आवतजावत गरेको नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहामा सञ्चालन गरेको हेल्थ डेक्सका अहेव शालिकराम कश्यपले बताए। उनका अनुसार चार दिनमा ३३ हजार आठ सय २० जना भारतबाट आएका छन्। गड्डार्चाकीमा श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ। ‘बिहान एक्कासि घर फर्किनेको भीड लागेपछि स्वास्थ्य परीक्षण गर्नै गाह्रो भयो’, सहायक रथी शंकर पण्डितले भने, ‘तापनि हामीले त्यसको व्यवस्थापन गर्‍यौं।’ 

जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनमा ६४ हजार ५४ जनाले सीमा वारपार गरेका छन्। शनिबार साँझ ६ बजेसम्म ९ हजार पाँच सय ८८ जना आएका छन्। राति १० बजेसम्म चार पाँच हजार थपिन सक्ने अनुमान छ। जमुनाहा हेल्थ डेक्सका अहेव कश्यपका अनुसार हरेक दिन भारतबाट नेपाल आउने बढेको बढ्यै छन्। जमुनाहबाट बुधबार सात हजार सात सय २३, बिहीबार आठ हजार ७ सय ५०, शुक्रबार सात हजार सात सय ५९ नेपाली स्वदेश फर्किएका छन्। 

सीमामा कोरोना परीक्षणका लागि शुक्रबारदेखि नेपाली सेना पनि खटिएको छ। नेपालगन्ज उपमहानगरपालिकाबाट पनि एक सिफ्टमा दुई जनाका दरले दैनिक आठ जना स्वास्थ्यकर्मी खटिएका छन्। बिहान ६ बजेदेखि राति १० बजेसम्म चार सिफ्टमा स्वास्थ्यकर्मीले कोरोना जाँचिरहेका छन् । रुपैडियामा कोरोना जाँच गरिरहेको बहराइच जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र चर्दाका इएमटी दीपक मि श्राका अनुसार चार दिनमा ३० हजार भारत प्रवेश गरेका छन्। भारत जाने पनि हरेक दिन बढिरहेका छन्। बुधबार साढे चार हजार, बिहीबार साढे पाँच हजार, शुक्रबार सात नौ हजार र शनिबार १३ हजारभन्दा बढी पुग्ने मि श्राले बताए । 

भारतबाट हजारौं नेपाली घर फर्किन थालेपछि सुदूरपश्चिममा स्थानीय प्रशासनले संक्रमण हुन नदिन शनिबार विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए। उनका अनुसार कञ्चनपुरका गड्डाचौकीबाहेक अन्य नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको छ। भीमदत्त नगरपालिकामा रहेको सीएमए छात्रावास र जिल्ला प्रशासनको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको उनले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *