कोरोना संक्रमितलाई छैन आईसीयू

फागुन २५, काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाल नोवल कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिममा रहेको सूची सार्वजनिक गरेसँगै सरकारले अस्पताललाई आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । तर अधिकांश अस्पतालले बेवास्ता गरेका छन् । 

आईसीयू बेड अभाव रहेको भन्दै अस्पतालहरूले आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड व्यवस्थापन गर्न नसकिएको बताएका छन् । देशकै एक मात्र सरुवा रोग अस्पतालमा तीन वटा आईसीयू बेड छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ती बेडमा हाल एचआईभीलगायत अन्य सरुवा रोगका बिरामी छन् ।  

तत्काल कोभिड-१९ का बिरामी नदेखिएकाले आईसीयू बेड छुट्याएर नराखिएको एक चिकित्सकले बताए । ‘भोलि कुनै बिरामी कोभिड-१९ ले गम्भीर भएर आईसीयू चाहियो भने पहिलेदेखि बसेका बिरामी हटाउन मिल्छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरसहितको आईसीयू चाहिए अन्य अस्पतालमा छन् भनेर ढुक्क छौं ।’ 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार कोभिड–१९ का बिरामीमध्ये ५ प्रतिशत शिथिल हुन सक्छन् । त्यस्ता बिरामीलाई भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्छ । ‘कोभिड–१९ जस्तै आपतकालीन अवस्था वा महामारी व्यवस्थापनका लागि सबै अस्पतालले २० प्रतिशत बेड सधैं खाली राख्नुपर्छ, यो अन्तर्राष्ट्रिय मापदण्ड हो,’ उनी भन्छन् । केही अस्पतालले कोभिड–१९ का बिरामी राख्न आइसोलेसन वार्ड बनाए पनि आईसीयू बेड खाली छैनन्, कान्तिपुरमा खबर छ ।  

टेकु अस्पताल अन्य अस्पतालमा रिफर गरौंला भनेर ढुक्कसाथ बसेको पनि अन्य अस्पतालले बेड छुट्याएका छैनन् । पाटन अस्पतालमा भएका ६ वटा आईसीयूले नियमित बिरामीलाई नै नपुगेको निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । ‘हामीले ६ बेडको आइसोलेसन वाड छुट्याएका छौं,’ उनले भने, ‘कोभिड–१९ का बिरामी आए पनि आईसीयूमा बसेका बिरामीलाई हटाउन सक्दैनौं ।’ भोलि भेन्टिलेटर चाहिने बिरामी आइहाले टेकु नै पठाउने उनले बताए । 

निजामती (सिभिल) अस्पतालमा भेन्टिलेटरसहितका पाँच वटा आईसीयू बेड छन् । निर्देशक डा. दीर्घराज आरसीका अनुसार कोभिड–१९ का बिरामीकै लागि भनेर आईसीयूसहितका बेड छुट्याउन सक्ने अवस्था छैन । ‘त्यस्ता बिरामी आइहाले सरकारले हामीलाई आईसीयू र तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने, ‘बसिरहेका बिरामी सारेर अरुलाई कसरी राख्ने ?’ 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भेन्टिलेटरसहितका ११ वटा आईसीयू बेड छन् । सरकारको निर्देशनअनुसार अस्पतालले ६ बेडको आइसोलेसन वार्ड बनाए पनि आईसीयू खाली छैनन् । आइसोलेसन वार्ड पनि मापदण्डअनुसार नभएको भन्दै अर्को बनाउन सरकारले निर्देशन दिएको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए । ‘कोभिड–१९ का बिरामी आइहाले भने आईसीयूका अन्य बिरामीसमेत जोखिममा पर्छन्,’ उनले भने, ‘आईसीयू नै चाहिने बिरामी आए टेकु वा अन्य अस्पताल पठाउँछौं ।’ 

वीर अस्पतालमा भने कोभिड–१९ का बिरामीकै लागि भनेर एउटा आईसीयू छुट्याइएको छ । आईसीयूसम्म संक्रमित बिरामी लैजानका लागि छुट्टैखाले बाटोसमेत व्यवस्थापन गरिएको छ । ६ वटा क्याबिनलाई आइसोलेसन वार्डमा परिणत गरिएको ईडीसीडीका निर्देशक डा. वासुदेव कार्कीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *