अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउनु उपयुक्त होईन् : रघुजी पन्त

फागुन १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले अहिले सरकारको नेतृत्व परिवर्तको कुरा उठाउनु उपयुक्त नभएको बताएका छन् । आईतबार रिपोर्टर्स क्लबमा बोल्दै पन्तले सो कुरा बताएका हुन् ।   

उनले भने,‘कतिपय मान्छेहरुको चाहना सरकारको नेतृत्व परिवर्तन होस् भन्ने होला, तर, अहिले नेतृत्व परितर्वनको कुरा उठाउनु अलिक उपयुक्त हुन्छ जस्तो लाग्दैन’ 

उनले नेकपाभित्रको विवादको समाधान सचिवालय बैठकबाट सुरु भएकोले सचिवालय बैठकले नै यसको समाधान गर्ने स्पष्ट पारेका छन् । उनले सचिवालयको निर्णयलाई पर्खिएर बसेको बताउँदै पार्टीभित्र पछिल्लो समय देखिएको परिदृश्य दुःखद् भएको टिप्पणी गरे ।   

उनले अहिले देखिएका समस्याहरुको समाधान पार्टीको सचिवालयको बैठकबाट यथाशक्य चाँडो गर्नसमेत माग गरे ।   

पन्तले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएपछि अहिले देखिएका नेकपाभित्रका सबै समस्या हल हुने विश्वास दिलाए ।   

उनले भने,‘अहिलेको अवस्था भनेको सबैले आत्मचिन्तन गर्ने अवस्था हो । केपी ओलीजीले, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेवलगायत सबैले कसरी पार्टी एकता प्राप्त गर्ने र कसरी सबै नेताले आ–आफ्नो अहम् त्यागेर पार्टीलाई एकताको बाटोमा लैजाने भन्ने नै हो ।’ 

उनले संविधान संशोधनको एजेण्डा आफ्नो पार्टीको बहस र विवादबाट बाहिर भैसकेको पनि चित्रण गर्दै संविधान संशोधनको एजेण्डा बेठीक ढंगले, बेठीक समयमा र बेठीक कुराहरुलाई लिएर अघि सारिएको तर्कसमेत  गरे ।   

पन्तले संविधान कार्यान्वयनको बाटोतर्फ मुलुक अघि बढिरहेको अवस्थामा संविधान संशोधनको कुरा उठाउनु भनेको नदुखेको टाउँको डोरी लगाएर दुखाउने काम भएको पनि टिप्पणी गरे ।   

उनले नेकपाले अब संविधान संशोधनको एजेण्डा आगामी ८–१० वर्षसम्मपनि छलफलमा ल्याउन नहुने जिकिर गरे ।   

पन्तले प्रदेशको विकासको सवालमा अहिलेको प्रदेशसभाको संरचना बदल्नुपर्ने आवश्यकत्ता औंल्याउँदै २ नम्बर प्रदेश मधेश नभएको जिकिर गरे । उनले भने,‘त्यो मधेश मध्यदेशबाट अपभ्रंश भएको हो । मध्यदेश भन्ने भारतमा पर्छ । २ नम्बर प्रदेशको नाम पनि मधेश राख्ने कुरा उपयुक्त होईन् । हामीले लैङिक समानताको कुरा हेर्ने हो भने त्यो प्रदेशको सबैभन्दा उपयुक्त नाम जानकी हुन्छ ।’   

यस्तै, उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनुपर्छ भनेर अहिले बेमौसममा संविधान संशोधनको कुरा गरिएको भन्दै नेतृत्वको कडा आलोचना गरे ।   

उनले अहिलेको विवादको कुरा उल्लेख गर्दै राष्ट्रियसभामा कोहीपनि अपरिहार्य नभएको जिकिर गर्दै राजनीति, जनताको जीवन र राष्ट्रको जीवनमा कुनै पनि व्यक्ति अपरिहार्य नभएको बताए ।   

उनले भने, ‘केपी ओलीजीपनि अपरिहार्य होईन । प्रचण्डजीपनि होईन् । माधव नेपाल, झलनाथ, वामदेव गौतमपनि कोही पनि होईन् । उहाँहरुले म अपरिहार्य हो भनेर सोच्नु भयो भने त्यो गल्ती हुन्छ, त्यसैले यो अपरिहार्य हो भनेर जोड दिने कुरा पनि आफैंमा गलत हो ।’   

अहिले देखिएको पार्टी विवादले फुटको अवस्था नल्याउनेसमेत उनको दाबी छ ।   

उनले अहिले नै मुलुकमा एउटा राजनीतिक अनिश्चितता र अस्थिरता उत्पन्न हुनेगरि प्रधानमन्त्री परिवर्तनको कुरा तत्काल उठाउनु उपयुक्त नहुने जिकिर गरे ।   

नेता पन्तले एमसीसीका कतिपय कुराहरु सच्याउने मिल्ने हो भने सच्याउने र त्यसमा नेकपाद्धारा गठित कार्यदलले केही सुझाव दिएको पनि बताए ।   

कोरोना भाईरस (कोभिड–१९) को प्रभावका कारण नेपालको विमानस्थलमा आवातजावत बन्द गर्न नहुने उनको भनाइ छ ।   

यस्तै उनले गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा छानबिन हुनुपर्ने बताए ।   

पन्तले अहिले प्रधानमन्त्री उपचारको क्रममा भएकाले उनको स्वास्थ्यलाभको कामना गर्ने बेला भएको बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =