युरोप बन्द : अन्योल र त्रासमा नेपाली, कोरोना परीक्षणमा साधन अभाव, नेपालमै बन्यो स्यानिटाइजर

चैत ५, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । आजको अन्नपूर्णले युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड-१९)को बढ्दो संक्रमणले संकटमा परेको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । 

पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन् । अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन। जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ। पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन्।  

त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन्। त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन्। अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (भिसाबाहेक) बस्दै आएका छन्। उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ। 

युरोपमा हजारौंको संख्यामा नेपाली अवैध बसोबास गरिरहेका छन्। युरोपमा रहेका राजदूतका अनुसार नेपालीमा महामारी भएको जानकारी आएको छैन। ‘नेपालीसँग कुनै न कुनै माध्यमले जोडिएका छौं’, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मंगलबार अन्नपूर्णसँग टेलिफोनमा भने, ‘पोर्चुगलको फारवामा एक नेपालीलाई संक्रमण भएको र त्यहाँ ४०–४५ नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी आएको छ।’ 

नेपालीको नाम सार्वजनिक गरिएको छैन। आइसोलेसनमा राखेर र उपचार भइरहेका नेपालीको स्थिति सामान्य रहेको जानकारी उनले दिए। युरोपेली महासंघ (ईयू)का लागि राजदूत रहेका लोकबहादुर थापाले पनि यहाँका नेपालीलाई कोरोनाले आक्रमण गरेको जानकारी नभएको बताए। सिंगो युरोप आक्रान्त रहेकाले सबै सचेत भएर घरमै बस्नुको विकल्प नभएको उनले उल्लेख गरे। ‘युरोप औपचारिक रूपमै लकडाउनझैं छ’, उनले भने, ‘बुधबार साँझ ईयू नेतृत्वको भिडियो कन्फरेन्स गर्दै नियन्त्रण र उपचारका थप निर्णय लिनेछन्।’ 

अधिकांश मुलुक १५ दिनका लागि लकडाउन भएका छन्। इटाली र स्पेन यसअघि नै लकडाउन थिए। बेल्जियम, नेदरल्यान्ड र लग्जेम्बर्गसमेत हेर्ने राजदूत थापाले त्यहाँ रहेका नेपालीमा समस्या नभए पनि सन्त्रास रहेको बताए। ‘वैधानिक रूपमा काम गर्नेलाई अन्य समस्या पनि रहँदैन। सरकारले खानाका लागि पैसा उपलब्ध गराउँछ’, उनले भने, ‘अवैध बस्ने तथा दैनिक ज्यालादारी गर्नेलाई असहज भए दूतावासले सहयोग गर्नेछ। आफ्ना नागरिकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो।’ 

ईयूअन्तर्गतका सबै मुलुकमा कोरोना महामारी फैलिएपछि १५ दिनका लागि सटडाउन गरेका हुन्। उनीहरूलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ। कतिपय स्थानमा नागरिक बाहिर निस्किरहेकाले त्यहाँ उनीहरूलाई सुरक्षाकर्मी परिचालन गरेर भए पनि भित्रै राख्ने नीति ईयूले लिएको अधिकारीले बताए। सुरुमा अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जान दिइएको थियो। इटाली र स्पेन प्रभावित रहे पनि अहिले फ्रान्स, जर्मनी, पोर्चुगल, डेनमार्क, स्विटजरल्यान्डमा फैलिएको छ । 

कान्तिपुरले ‘ढोकैमा साबुन पानी’ शीर्षकमा समाचार छापेको छ । ‘यहाँ बाल्टिनमा पानी, जग र साबुन राखिदिएको छु,’ घरमा आउनेलाई सुकमाया चौधरी भन्ने गर्छिन्, ‘पहिला हातखुट्टा र मुख धुनू, अनि भित्र पस्नू ।’ 

तीन दशकदेखिकी महिला स्वास्थ्य स्वयंसेविका मोरङको महेशपुरकी ५४ वर्षीया चौधरी पाहुनालाई मात्रै होइन, परिवार र छिमेकीलाई पनि साबुन–पानीले हातमुख धुन लगाएपछि मात्र घरभित्र जान दिन्छिन् । व्यक्तिगत सरसफाइको यो काइदा उनले सानी छँदा बुबाआमा र छरछिमेककाले गरेको देखेकी थिइन् । बस्ती बढ्दै जाँदा र सहरीकरणको हावाले छुँदै जाँदा यो चलन हराएको थियो । अहिले त्यही पुरानो चलन उनले कोरोना भाइरसविरुद्धको सतर्कतास्वरूप आफू जोगिन र अरूलाई पनि जोगाउन प्रयोगमा ल्याएकी छन् ।‘ऊबेला घरको द्वारमा यसैगरी बाल्टिनभरि पानी र जग राख्ने चलन थियो, कतैबाट आउँदा हातखुट्टा तथा मुख पखालेर मात्र भित्र पस्थे,’ उनले भनिन्, ‘हाटबजारमा गइन्छ, दस ठाउँ टेकिन्छ, दस जनालाई भेटिन्छ, बाहिरका फोहोर र कीटाणु घरभित्र नपसुन् भनेर यसो गर्ने चलन थियो ।’ 

चौधरीका अनुसार बिर्सिसकेको पितापुर्खाको संस्कृतिलाई कोरोना भाइरसको त्रासले सम्झाएको छ । ‘आफ्नो स्वास्थ्यका छरछिमेकलाई यसैगरी द्वारमा एक डोल (बाल्टिन) पानी, जग, मग र साबुन राख्न लगाइरहेको छु,’ उनले भनिन्, ‘घर बाहिरै धारा र चापाकल भएकाले एउटा साबुन राखिदिए पुग्छ ।’ 

अहिलेसम्म कुनै पनि निकायबाट यसबारे बस्तीवासीले प्रशिक्षण र जानकारी नपाएको चौधरीले बताइन् । ‘सञ्चारमाध्यमबाट यो भाइरसबारे थाहा पाएको हुँ,’ उनले भनिन्, ‘जति मैले ज्ञान पाएकी छु, त्यसअनुसार गरिरहेकी छु । अरूलाई पनि गर्न लगाइरहेको छु, हातखुट्टा धोएर मात्र घर छिर्ने र ओछ्यानमा बस्ने सल्लाह दिइरहेको छु ।’ 

बस्तीमा कसैलाई रुघा, ज्वरो र झाडापखाला लागेमा अस्पताल पठाउने गरेकी छन् । ‘कोरोना भाइरसकै संक्रमण नभए पनि अहिलेको बेला रुघा लागेमा लापरबाही गर्नुहुन्न भनेर सम्झाउँछु,’ उनले भनिन् । बितेका दुई साताको अवधिमा उनले आफ्नो बस्तीमा सामान्य रुघा लागेका एक नाबालकसहित चार जनाले अस्पतालमा उपचारपछि निको भएर घर फर्केको बताइन् । 

विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको समाचार नागरिकमा छ । तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन ।  

हाल १५ सय मात्र पिसिआर रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। सरकारले २ हजारजति पिसिआर ल्याएमध्ये करिब ५ सय प्रयोग भइसकेका छन्। पिसिआर कम भएका कारण शंका लागेजति सबै र निजी क्लिनिकका चिकित्सकको सिफारिसका बिरामीको नमुना परीक्षण नगरिएको एक निजी क्लिनिकका चिकित्सकले सुनाए। ‘लामो समय सेवा दिएका चिकित्सकको सिफारिसका आधारमा जाँच हुनुपथ्र्यो’, उनले भने। 

उनले आफूकहाँ आएका शंकास्पद दुई बिरामीले कोरोना परीक्षण गर्न नपाएको गुनासोसमेत सुनाए। यस विषयमा बुझ्न खोज्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोेकेको दायराभित्र परेका व्यक्तिको मात्र जाँच  गर्न मिल्ने व्यवस्था गरिएको बताए।  

दायराभित्र नपरेकाको कोरोना जाँच हुन नसकेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि पुष्टि गरे। उनले शंकास्पद सबैको परीक्षण गर्न नपाउँदा बिरामी अन्योलमा परेको स्वीकार गरे। परीक्षणको दायरा फराकिलो बनाउन प्राविधिक समिति र विश्व स्वास्थ्य संगठनसित छलफल अघि बढाइने पाण्डेले बताए। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत डा. राजेशकुमार गुप्ताका अनुसार अहिलेको पिसिआरले अहिलेकै दरमा थप २५ दिन धान्न सक्छ। तर बढेको अवस्थामा भने पुग्ने स्थिति छैन। सुरुमा दैनिक आठजनाजतिको नमुना परीक्षण हुने गरेकोमा अहिले दैनिक २५ जनाको परीक्षण हुने गरेको छ।  

गोरखापत्रले नेपाली जडीबुटी रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको समाचार प्रकाशित गरेको छ । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर बनाएर परीक्षण प्रयोग गरेको छ ।   

यतिबेला कोरोना भाइरस (कोभिड–१९) बाट बच्न उपयोग गरिने अत्यावश्यक सामाग्री मास्क र स्यानिटाइजरको अभाव नेपाली बजारमा देखिएको छ । विदेशबाट आयात हुने पनि आइरहेका छैनन् । भएका सामाग्री पनि कालोबजारी गर्नेले लुकाउने र महंगोमा बिक्री गरिरहेका छन् । यही बेला अत्यावश्यक सामाग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो । गोरखापत्र दैनिकमा खबर छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *