क्यानडाका प्रधानमन्त्री जस्टिनकी पत्नी सोफी कोरोनामुक्त

चैत १६, काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडो कोरोना संक्रमणबाट निको भएकी छन्। कोरोना संक्रमण देखिएपछि दुइ हप्ताअघि श्रीमानसहित सोफी क्वारेन्टाइनमा बसेकी थिइन्। प्रधानमन्त्री जस्टिनलाई भने लक्षण देखिएको थिएन।
क्यानडाको सञ्चारमाध्यम सीटीभीन्यूजका अनुसार उनले डाक्टर र त्यहाँको सम्बन्धित निकायबाट शनिबार राती संक्रमणमुक्त भएको ‘क्लियरेन्स’ पाएकी हुन्। ग्रेगोइरे ट्रुडोले उनलाई आफ्नो डाक्टर र ओटावा पब्लिक हेल्थले उनी अब संक्रमणबाट पुरै मुक्त भएको जानकारी दिएको सामाजिक सञ्जालमा लेखेकी छन्।
‘यो बीचमा शुभकामना व्यक्त गर्ने सबैप्रति म मेरो मुटुदेखि नै धन्यवाद भन्न चाहन्छु। अहिले यसबाट संक्रमित सबैलाई म आफ्नो स्नेह व्यक्त गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेकी छन्। पत्नी संक्रमित भएको पुष्टि भएपछि प्रधानमन्त्री पनि मार्च १२ देखि सेल्फ–आइसोलेसनमा बसेका थिए।

प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिएका कारण आफू घरबाटै काम गरेको उनले बताएका थिए। उनीहरुका तीन सन्तान स्वस्थ रहेको समाचारमा जनाइएको छ। अहिले विश्वका बिभिन्न मुलुकका उच्चपदस्थहरुमा संक्रमणका कारण क्वारेन्टाइनमा बसिरहेका छन्।
बेलायतका राजकुमार चार्ल्र्स, त्यहीका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री नदिन डोरिस लगायत अहिले आइसोलेसनमैं रहेर उपचाररत छन्।








