पूर्वराजा ज्ञानेन्द्रले मोदीको प्रशंशा गर्दै भने–‘एकताले कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुग्नेछ’

चैत्र ५, काठमाडौं । विश्वमा फैलँदो कोरोना भाइरसको संक्रमणलाई लिएर पूर्वराजा ज्ञानेन्द्रले चिन्ता ब्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले कोरोना भाइरसविरुद्ध सार्क मुलुकहरू एक भएर सामना गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको कदमको उच्च प्रशंसा पनि गरेका छन् । मोदीले चैत २ गते आइतबार दक्षिण एसियाली सबै राष्ट्र तथा सरकारप्रमुखहरूबीच भिडियो सम्मेलनको आयोजना गर्दै कोरोना भाइरस विरुद्ध एक जुट हुन आग्रह गरेका थिए ।   

ट्विटरमा मोदीलाई ‘मेन्सन’ गर्दै पूर्वराजा ज्ञानेन्द्रले ‘हामीबीचको एकताले अदृश्य शत्रुको रूपमा रहेको कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुग्नेछ’ भनेर लेखेका छन् ।   

यसअघि सार्क राष्ट्रप्रमुखहरूबीच भिडियो सम्मेलन हुने कुरा सार्वजनिक भएपछि पूर्वराजा ज्ञानेन्द्रले ‘दक्षिण एसियाली मुलुकबीच कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीति बनाउने कुरा सराहनीय छ । कार्यगत एकताबिना कुनै पनि काम सम्भव नरहेको वर्तमान परिस्थितिमा छिमेकी मुलुकहरू एक हुनु अनिवार्य आवश्यकता नै थियो, जसलाई समयमा नै बुझ्न सफल हुनु सकारात्मक पक्ष हो’ भनेर ट्विट गरेका थिए । 

अहिले कोरोना भाइरसबारे ज्ञानेन्द्रले लगातार ट्विट गरेका छन् । ‘कोरोना भाइरसको प्रकोपभन्दा दैनिक उपभोग्य सामानको कालोबजारीले गर्दा देशमा हाहाकारको स्थिति आउने सङ्केत देखिएको छ । यस्तो अवस्थामा सरकारले स्थितिलाई सामान्यीकरण गर्नेतर्फ खासै कदम चालेको देखिएन । बेलैमा सचेत भई देशमा अकल्पनीय स्थिति आउन नदिनेतर्फ सरकार र नागरिक सचेत हुनुपर्छ ।’ उनले लेखेका छन् ।   

हिजो मात्रै ज्ञानेन्द्रले ट्विट मार्फत कोरोना भाइरसको खोप लगाइएपनि समाजमा कालो बजारी गर्ने भाइरसहरुको विगविगी रहेको उल्लेख गरेका छन् । उनले ‘कोरोना भाइरस खोप लगाईएको छ, औषधी पाएको छ, छिटो नै उन्मूलन गर्न सकिन्छ, तर संकटको जोखिममा रहेको कालो बजार भाइरस लाई कसरी जोगाउने ? भाइरस कहिल्यै खोप हुँदैन, न औषधि । आम जनता कहिले कालो बजारमा संकट र प्रकोपबाट मुक्त हुनेछन ?’ भनी प्रश्न गरेका छन् ।   

गत हप्ता पूर्वराज ज्ञानेन्द्रले लेखेका छन् । ‘प्रविधि र आर्थिक रूपमा हामीभन्दा धेरै सम्पन्न राष्ट्रहरूले समेत कोरोना भाइरसको प्रकोपलाई चिन्ताजनक रूपमा लिएको अवस्थामा हाम्रो देशमा यसलाई हल्का रूपमा नलिई सरकारले आफ्ना आमनागरिकप्रतिको कर्तव्य निर्वाह गर्नबाट चुक्नुहुँदैन ।’   

साथै ज्ञानेन्द्रले कोरोना भाइरसविरुद्धका विभिन्न सूचना सामग्रीहरू सेयर गर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका सूचनादेखि कोरोनाको जोखिम र सावधानीलाई लिएर तयार गरिएका समाचारलाई उनले ट्विटमार्फत सेयर गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =