एसईई परिक्षाका लागि खैरहनीमा आइसोलेशन कक्ष

चैत ५, चितवन । चितवनको खैरहनी नगरपालिकाले संभावित कोरोना भाईरस सक्रमण हुनबाट जोगाउन एसईई परिक्षा केन्द्रमा आइसोलेशन कक्ष स्थापना गरेको छ ।
एसईई परिक्षाका लागि नगर भित्र तोकिएका चार वटा परिक्षा केन्द्रमा एक एक वटा आइसोलेशन कक्ष स्थापना गरिएको स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले बताए ।
परिक्षा संचालन तथा समन्वय समितिका संयोजक तथा नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा बुधवार बसेको बैठकमा स्थानीय शिक्षा अधिकारी पौड्यालले प्रत्येक परिक्षा केन्द्रमा एक एक वटा आइसोलेशन कक्ष स्थापना गरिएको जानकारी दिए । खैरहनी नगरपालिकामा खैरहनी माध्यमिक विद्यालय, कंकाली माध्यमिक विद्यालय, डेजी आवासीय विद्यालय र नेपाल आर्दश शिक्षा सदनमा एसईई परिक्षा केन्द्र तोकिएको छ ।

प्रत्येक परिक्षा केन्द्रमा आइसोलेशन कक्ष सहित हेल्थ डेस्क समेत राखिने छ । नगरपालिकाले हेल्थ डेस्कमा एक जना स्वास्थ्यकर्मी, इन्फ्रारेड थर्ममिटर, साधारण औषधी तथा प्राथमिक उपचार सामाग्री,सेनिटाईजर वा हात धुने साबुनपानीको व्यवस्था गरेको छ ।
खैरहनीमा नगर प्रमुख चौधरी अध्यक्षता रहने गरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगर,सशस्त्र प्रहरी वल वाहिनी भण्डाराका प्रहरी निरीक्षक गोविन्द्र लामिछाने सदस्य तथा स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल सदस्य सचिव रहेको परीक्षा संचालन तथा समन्वय समिति रहेको छ ।
बैठकले बिहीबारदेखी सुरु हुने एसईई परीक्षा मर्यादित र शान्त रुपमा सम्पन्न गर्न सुरक्षा निकाय र नगरपालिकाबाट आवश्यक सवै प्रकारका सहयोग उपलव्ध गराउने निर्णय गरेको छ ।
बैठकमा खैरहनी नगर उपप्रमुख सुनिता थपलिया,स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, रोजगार संयोजक रमेश पौडेल, प्रेस संयोजक ध्रुवराज खनालको समेत उपस्थिती रहेको थियो ।








