नयाँ शैक्षिक सत्र सुरु भएपनि जुम्लामा पाठ्यपुस्तक अभाव कायमै

फागुन २७, जुम्ला । नयाँ शैक्षिक सत्र शुरु भएको एक महिना बितिसक्दा पनि जुम्लाका सामुदायीक विद्यालयहरुले पाठ्यपुस्तक पुर्‍याउन सकेका छैनन् । अधिकांस विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने गरेको छ । कक्षा एकका पाठ्यपुस्तक जिल्लाका कुनै पनि विद्यालयमा पुग्न सकेका छैनन् । विद्यार्थीहरु कपीको भरमा स्कुल जाने गरेका छन् ।   

जुम्लालगायत हिमाली जिल्लामा पर्ने कालिकोट, मुगु, डोल्पा र हुम्लामा नयाँ शैक्षिक सत्र २६ माघदेखि सुरु भएपनि यहाँका सामुदायिक विद्यालयहरुका विद्यार्थीले फागुन बिति सक्‍न लाग्दा पनि पुस्तक पाउन नसकेका हुन् । जुम्लाको सिँजा गाउँपालिका स्थित कैलाश माध्यमिक विद्यालय फुङग्रका प्रध्यानाध्यापक बिष्णुलाल रोकाया कक्ष १ को पाठ्यपुस्तक आईनपुगेको बताउँछन् । उनले भने, ‘विद्यार्थीहरु कपिको भरमा विद्यालय आउने फर्कने गरेका छन् ।’ अन्य सबै कक्षाका विद्यार्थीलाई पुस्तक वितरण भईसकेको छ ।   

तर केही विद्यालयहरुमा पुस्तक पुग्न नसकेको विद्यार्थीहरु बताउँछन् । 

पुस्तक छापिने र परिमार्जन हुने गरेकोले कक्षा १ को पुस्तक आउन नसकेको प्रध्यानाध्यापक रोकायाले बताए । उनले तत्काल पाठ्यपुस्तक पठाएर विद्यार्थीको पठनपाठनमा सहजता ल्याइदिन सम्बन्धित नियकाहरुलाई आग्रह समेत गरेका छन् । कैलाश माध्यमिक विद्यालय ३ सय ३० जना जति विद्यार्थी छन् । माध्यामिक विद्यालय जोडुका प्रधानाध्यापक नरबहादुर रोकाया विद्यार्थी संख्या अनुसार पाठ्यपुस्तक विद्यालयमा पुग्न नसकेको बताउँछन् । पाठ्यपुस्तक ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘अहिले केही विद्यार्थी पुस्तक बिना नै विद्यालयमा आइरहेका छन् । शिक्षक विद्यार्थी नियमति विद्यालयमा उपस्थित छन् । तर पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको छ ।’   

सिँजा गाउँपालिकाका १२ विद्यालायमा पुस्तक वितरणको जिम्मेवारी लिएका बिक्रेता मोहनविक्रम शाही कक्षा १ को पुस्तक नै नआएकाले वितरण नभएको बताउँछन् । उनले भने, ‘कक्षा ६, ७ र ८ को पुस्तक पनि रंगिन हुनु पर्नेमा त्यो हुन सकेको छैन् । २÷४ पुस्तक मात्रै रंगिन छन् अरु सबै पुरानो पठाईएको छ ।   

जुम्ला जिल्ला भरी पुस्तक बिक्री गर्दै आएका जीपी स्टेशनरीका बिक्रेता प्रकाश शाही कक्षा १ को पुस्तक नआएको बताउँछन् । नयाँ पाठ्यक्रम परिर्वतन भएर आएकोले पुस्तक छाप्न समय लाग्ने जानकारी पाएको उनले बताए । अरु सबै कक्षाका पाठ्यपुस्तक आईसकेका छन् । तर विद्यालयले लिन ढिलासुस्ती गरिरहेको उनी बताउँछन् । 

‘धेरै विद्यालयमा पाठ्यपुस्तक गइसक्यो । आवश्यक भएका विद्यालयलाई लिन भनिसकेका छौ’, उनले भने, यहाँका विद्यालयको माग अनुसार पुस्तक उपलव्ध गराउन सकिने अवस्था छ । पातारासी गाउँपालिका शिक्षा अधिकृत झनमाया खत्री विद्यालयमा पाठ्य पुस्तक पुगेको बताउँछिन् । तर पाठ्यक्रम परिवर्तन भएकोले नेपाली माध्यममा पढाई हुने विद्यालयमा कक्षा १ को पुस्तक नपुगेको बताइन् । 

जुम्लामा १ सय ६९ सामुदायिक विद्यालय मध्ये प्राथमिक तहका विद्यालय ९२, आधारभुत तहका विद्यालय ३१, माध्यामिक विद्यालय ३१ र उच्‍च मावि तहका विद्यालय १६ छन् । यहाँ मंसिरमा शैक्षिक सत्र सकिएर माघ २६ गतेदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुने गरेको छ । पाठ्यपुस्तक अभाव, शिक्षक विद्यार्थीको नियमित उपस्थिती नहुनु र अभिभावकले विद्यालय प्रति राम्रो संग चासो नदिनुले यहाँको शैक्षिक गुणस्तर खस्कदै गएको सरोकारवालाहरु बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =