प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नु धेरै राम्रो: डा. काफ्ले

फागुन २०, काठमाडौँ । बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् ।  

उनले भने, ‘उहाँ पूनः प्रत्यारोपणको लागि विदेशपनि जान सक्नुहुन्थ्यो, तर उहाँले नेपालमै गर्ने निर्णय गर्नुभयो । यो अत्यन्तै राम्रो पक्ष हो । यो हामी नेपाली चिकित्सकहरुले आर्जन गरेको कुरा पनि हो । हामी सेवा दिन सक्छौं भन्ने पक्ष हो ।’ 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए । उनले भने, ‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन् । मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ । यी सबै टेष्ट गर्दा पूर्ण रुपमा स्वस्थ देखियो । त्यही भएर अस्पताल भर्ना गरिएको हो ।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ । उनले भने, ‘हिजो प्रधानमन्त्रीज्यू भर्ना हुनुभयो, आज अब्जर्भेशनमा राखिएको छ । भोलि, उहाँको ट्रान्सप्लान्ट हुन्छ ।’ 

 उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए । उनले भने,‘शरिरले साथ दिएसम्म उहाँ स्वस्थ हुनुहुन्छ । कुनै ईन्फेक्शन भएन, हृदयघात वा सडेन डेथ भएन भने लामो समयसम्म चल्न सक्छ ।’ नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ । उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *