राष्ट्रियसभा बैठक : स्वास्थ्य परीक्षणपछि संसद भवन भित्र छिरे सांसदहरु

चैत्र ६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि बिहीबारदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको बिहीबारको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।
चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर प्रवेश गराएको छ । सङ्घीय संसद्कै चिकित्सक टोलीले आजदेखि उक्त जाँच शुरु गरेको जनाइएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउन शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

कुनै पनि ठाउँमा अत्यावश्यक कामबाहेक सार्वजनिकस्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत स्थलमा २५ भन्दा बढी भेला तथा जमघट हुन नदिने निर्णयसमेत गरेको थियो । सरकारले सोही रोगको जोखिमलाई ध्यान दिँदै आजदेखि शुरु हुन लागेको एसइई परीक्षा तथा चैत महिनाभरमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।
रासस








