दोस्रो एल क्लासिकोः रियलको मैदानमा बार्सिलोना पराजित

फागुन १९, काठमाडौं ।पहिलो एल क्लासिकोमा घरेलु मैदानमा बराबरी खेलेको बार्सिलोना रियल मड्रिडको घरमा पराजित भएको छ । गएराती लालिगाको प्रतिष्ठित दोस्रो एल क्लासिकोमा बार्सिलोना २–० ले पराजित हुँदै लिगको दोस्रो स्थानमा झरेको छ ।   

जारी प्रतियोगितामा हिजोबाट रियल मड्रिड एक अंकको अग्रता बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५६ अंक हुँदा रियलको समान खेलबाट ५७ अंक रहेको छ । एल क्लासिकोमा गएराती रियललाई पराजित गरेको खण्डमा लिगमा उसले स्पष्ट ५ अंकले छाड्ने थियो । तर, रियलको मैदानमा बार्सिलोना कमजोर भयो ।   

खेलमा रियलले दुवै गोल दोस्रो हाफमा गर्यो । बर्नाबेउमा रियलको जितमा युवा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे । 

यस अघि पहिलो हाफ गोलरहित बराबरीमा खेल्दा बार्सिलोनाले रियललाई दवावमा राखेको थियो । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी, एन्टोनी ग्रिजमेन र आर्थुरले पहिलो हाफमा गोल गर्ने केही सुन्दर मौका गुमाए । २१औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्ने मौका चुकाउदा बार्सिलोनाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । 

३४औं मिनेटमा ब्राजिली आर्थरको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै बार्सिलोनाको अग्रता टारे । ३९औं मिनेटमा कोर्टुवाले पुनः उत्कृष्ट बचाउ गर्दा बार्सिलोनाले पहिलो हाफमा अग्रता लिनबाट चुक्यो । 

यता घरेलु टोली रियलका लागि खेलको १६औं मिनेटमा करिम बेन्जेमाले गोलको सुन्दर अवसर खेर फालेका थिए ।   

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्किएको रियलले बार्सिलोनामाथि लगातार आक्रमण गरेको थियो । ५६औं मिनेटमा इस्कोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले उत्कृष्ट बचाउ गरे । कर्नरमा आएको बललाई इस्कोले २५ यार्डबाट गरेको प्रहारलाई टेर स्टेगनले उत्कृष्ट पञ्च गर्दै बचाए । 

६२औं मिनेटमा रियल पुनः अग्रता लिनबाट चुक्यो । इस्कोकै हेडमा गोलरक्षक बिट भएपनि डिफेन्डर जेरार्ड पिकले गोललाइन बचाए । लगातार दुई आक्रमण विफल भएको रियलले ७१औं मिनेटमा भने भिनिसियसले गोल गर्न सफल भए ।   

टोनी क्रुसको पासमा उनलेले उत्कृष्ट फिनिस गर्दै रियललाई अग्रता दिलाए । जुनियरको प्रहार जेरार्ड पिकेलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । 

त्यसपछि आक्रमक रुपमा बार्सिलोनालाई दवाव दिएको रियलका लागि इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गरे । डियाज इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो मुभमै ड्यानियल कार्भाहलको पासमा गोल गरे । 

जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनालाई १०० पटक हराउन सफल भएको छ । हालसम्म यि दुई टोली २७७ पटक आमने सामने भएका छन् । बार्सिलोनाले ११५ पटक जित निकाल्दा ६२ खेल बराबरीमा सकिएको छ । 

यस्तै ला लिगामा रियलले धैरे क्लासिको जित्न सफल भएको छ । ला लिगामा मात्रै यि दुई टोली १८० पटक प्रतिस्पर्धा गर्दा रियलले ७३ खेलमा जित निकाल्न सफल भएको छ । ७२ पटक बार्सिलोना विजयी हुँदा ३५ खेल बराबरीमा सकिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =