सीमानाका बन्द गर्दै भारत, सुनसान रोममा नेपालीका दुःख, कोरोना संकटले जगाउला सार्कको सान ?

चैत १, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको समाचार प्रकाशित गरेको छ ।   

भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो । नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ । 

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो । नेपाली नागरिकको हकमा यसले फरक पर्दैन । यो नियम कार्यान्वयनका क्रममा आइतबारदेखि आउने जटिलतालाई छलफलका आधारमा समाधान गर्ने बचन भारतले नेपाली कूटनीतिक च्यानललाई जानकारी दिएको छ । 

भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ, ‘नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित (बनबासा, सुनौली, रक्सौल र रानीगन्ज) नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन । यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । भारतले यो जानकारी कूटनीतिक च्यानलमार्फत नेपाललाई दिइसकेको पनि बुझिएको छ । 

शुक्रबार जारी सूचना बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन हुनुपर्नेछ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ । कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘नेपाली र भारतीय नागरिकलाई एकअर्को देशमा आवतजावतका लागि अहिले चार नाका तोकिएको छ । थप दुई नाकाका लागि नेपालले पहल गरेको छ । दुवै देशका नागरिकले परिचयपत्र बोक्नुपर्ने छ र सीमानाकामा अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्नेछ । 

भारतले बिहीबार सबै पर्यटक भिसा बन्द गरेको थियो भने नेपालीहरूको आवतजावत यथावत् हुने स्पष्ट पारेको थियो । नेपाल–भारत नाकाबाट विदेशी नागरिकको प्रवेश बन्द गरेको तथा ३ फागुनपछि इटाली, इरान, चीन, दक्षिण कोरिया, स्पेन, फ्रान्स र जर्मनी पुगेर भारत फर्केकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि सूचनामा उल्लेख छ । यी देशमा कोरोना भाइरस फैलिएको भन्दै भारतले आवतजावत र उडान बन्द गरिसकेको छ । 

आसाम, बिहार, मेघालय, मिजोरम, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल राज्यसँग नेपाल, भुटान, बंगलादेश र म्यानमार जोडिएका छन् । बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमन भारतले बन्द गर्नेछ । भारतले स्थलमार्गका अध्यागमनबाट सबै भिसा (नेपाली र भुटानीबाहेकका नागरिकलाई) बन्द गरिसकेको छ । सीमावर्ती हाटबजारमा विदेशीहरूको आवागमनलाई भारतले रोक लगाएको सूचनामा उल्लेख छ । 

कान्तिपुरले ‘सुनसान रोममा नेपालीका दु:ख’ शीर्षकको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् । 

‘कोरोना भाइरसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं।’ 

रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन्। उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ। इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ। मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको गुरुङले बताए। ‘कतै बाहिरी सहर वा जोनमा जानुपर्‍यो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टिफिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ। यो कठिनाइ लामो समय नरहला भन्ने आस छ।’ 

पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए। केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन्। ‘मान्छेहरू आफैंमा त्रसित छन्, केही निराश पनि छन्,’ उनले कान्तिपुरसँग भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ ।’ 

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतासम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट २० घण्टाभन्दा धेरै बिजुली उपयोग गर्ने ग्राहकबाट नेपाल विद्युत् प्राधिकरणले राजस्व संकलन नगरेर गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको समाचार नागरिकले प्रकाशित गरेको छ ।   

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले छानबिन गरी उक्त कार्यमा संलग्न पदाधिकारी तथा कर्मचारीमाथि कारबाही अघि बढाउन समेत उपसमितिले सुझाएको छ। उपसमितिले प्राधिकरण सञ्चालक समिति, प्रबन्धनिर्देशक, विभागीय प्रमुखलगायतले ट्रंकलाइनबाट निरन्तर बिजुली आपूर्ति लिने ग्राहकलाई डेडिकेटेड ग्राहकसरह महसुल दर कायम गर्ने निर्णय नगरेर गम्भीर लापरबाही गरेको औंल्याएको हो। 

उपसमितिका संयोजक मिनेन्द्र रिजालले शुक्रबार लेखा समितिका सभापति भरत शाहलाई प्रतिवेदन हस्तान्तरण गरे। सभापति शाहले प्रतिवेदनबारे अध्ययन गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। उपसमितिका सदस्य प्रदीप यादवले डेडिकेटेड तथा ट्रंकलाइनको अनियमिततामा प्राधिकरणको सञ्चालक समिति, प्रबन्धनिर्देशक वा विभागीय जिम्मेवारी लिएका पदाधिकारीको संलनता देखिएकाले आवश्यक छानबिन र कारबाही गर्न अख्तियारलाई निर्देशन दिन प्रतिवेदनमा सुझाइएको बताए। 

 ‘प्राधिकरणको सञ्चालक समिति, प्रबन्ध निर्देशक वा विभागीय जिम्मेवारी लिएका पदाधिकारी कोको दोषी छन्, उनीहरुउपर विस्तृत छानबिन गरी कारबाही गर्ने प्रक्रिया अघि बढाउन अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ,’ यादवले भने, ‘महसुल संकलन विनियमावली २०७३ मा भएको व्यवस्थाबमोजिम डाटा डाउनलोड गरी सुरक्षित राख्ने, बिल जारी गर्दा प्रक्रिया पु-याउने गर्नुपर्छ।’ 

नागरिकले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक ट्विट गर्दै दक्षिण एसियाली सहयोग संगठन (सार्क)का नेताहरुसमक्ष कोरोना संक्रमण (कोभिड–१९) सँग लड्न बलियो रणनीतिक योजना बनाउने प्रस्ताव अघि सारेको समाचार छापेको छ ।  

भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को प्रकोप भारतसहित विश्वभर तीव्र गतिमा फैलिँदैछ। 

भारतीय प्रधानमन्त्री मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्ने विषयमा यस संगठनका सदस्य मुलुकका नेताहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने जनाएका छन्। उनले स्वस्थ पृथ्वीका लागि योगदान दिएर विश्वमै उदाहरण पेस गर्न सकिने उल्लेख गरेका छन्। सार्कको वर्तमान अध्यक्ष नेपालसहित अन्य सदस्य मुलुकले मोदीको प्रस्तावको स्वागत गरेका छन्। अध्यक्ष राष्ट्रका तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत मोदीको प्रस्तावको स्वागत गरेका छन्। ओलीले कोरोनाबाट आफ्ना नागरिकको सुरक्षा गर्न सार्क मुलुकहरुसँग निकट रहेर काम गर्न नेपाल सरकार तयार रहेको बताएका छन्। 

भुटानका प्रधानमन्त्री लोट्य छिरिङले पनि मोदीको प्रस्तावको स्वागत गरेका छन्। उनले ट्विटरमार्फत सदस्य मुलुकका हिसाबले यस्तो समयमा सबै एकै ठाउँमा आउनै पर्ने बताएका छन्। उनले मोदीको नेतृत्वमा तत्कालै प्रभावकारी नतिजा प्राप्त हुने दाबी गरेका छन्। उनले भिडियो कन्फरेन्सको पर्खाइमा रहेको पनि बताएका छन् । 

पर्साको वीरगञ्ज नाका भएर पछिल्लो ३ दिनमा १ सय २८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको समाचार गोरखापत्रमा छ ।  

वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने एलपी ग्यास  बोकेका १ सय २८ वटा ग्यास बुलेट मंगलवार, बुधवार र बिहीवार गरी ३ दिनमा वीरगञ्ज भन्सार नाका भएर भित्रिएका हुन् ।   

बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *