कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसूचीबाटै हटाइयो

फागुन २९, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कालाापनीबाट भारतीय सेना हटाउनेबारे संकल्प प्रस्ताव पेश हुने भनिएपनि सो प्रस्ताव कार्यसूचीबाट हटाइएको छ ।   

कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने गरी संभावित कार्यसूची तय भएको थियो । तर आजको कार्यसूचीबाट उक्त संकलप प्रस्ताव हटाइएको छ ।   

यसअघि यही फागुन २३ गते बसेको संसद बैठकको कार्यसूचीमा चढेको प्रस्तावलाई पछि हटाइएको थियो भने बिहीबारको बैठकमा सम्भावित कार्यसूचीबाट नै हटाइएको छ ।   

चार महिना अघि पूर्वमन्त्रीसमेत रहेका नेकपा सांसद् खगराज अधिकारीले उक्त संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए । सो प्रस्तावको समर्थक नेकपाकै सांसद् रामकुमारी झाँक्रीले गरेकी छिन् ।   

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताएपछि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट उक्त प्रस्ताव हटेको बताइएको छ । 

संकलप प्रस्तावमा भनिएको छ, ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुराक्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले ।’   

गत नोभेम्बर महिनामा भारत सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई समेत आफ्नो नक्साभित्र पारेपछि चर्को विरोध भएको थियो । 

जनस्तरबाट विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकले भारतीय नक्सामा पारिएका नेपाली भूभाग कूटनीतिक माध्यमबाट फिर्ता गराउन सरकारलाई सुझाव दिएको थियो । त्यसपछि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी सेना हटाउने र नेपाली भूभाग फिर्ता गराउने घोषणा गरे । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यव्यवस्था तथा सुशासन समितिले पनि लिम्पियाधुरासहितको नेपाली नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =