प्रधानमन्त्रीलाई संक्रमणको आशंका, सरकारी जग्गा नेकपा नेतालाई ठेक्का, युरोपका नेपाली सुरक्षित

फागुन २९, काठमाडौ । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहेको समाचार आजको अन्नपूर्णले प्रकाशित गरेको छ ।   

संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन् । इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए। 

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो। प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्। 

मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’ 

इटालीसमेत हेर्ने जेनेभास्थित नेपाली स्थायी नियोग प्रमुख मणि भट्टराईले पनि नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको बताए। उनले टेलिफोनमा भने, ‘अवैतनिक दूत, गैरआवासीय संघका प्रतिनिधिलगायतसँग सम्पर्कमा रहेर सजग गराइरहेका छौं।’ जेनेभामा सबै सुरक्षा अवलम्बन गरिएको उनले बताए। जेनेभामा अप्रिलसम्मका राष्ट्रसंघीय सबै कार्यक्रम सारिएको छ । 

कान्तिपुरले ‘ताक्लाकोटमा अलपत्र नेपाली भन्छन्- ‘उद्धार नगरे भागेरै आउँछौं’’ शीर्षकको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । चीनको ताक्लाकोटमा अलपत्र नेपालीले सरकारबाट उद्धार नभए ‘भागेरै’ नेपाल छिर्ने बताएका छन् ।  

त्यहाँ रहेका १ सय ४८ जनामध्ये २३ जनाले ‘जसरी पनि घर फर्कने’ तयारी गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट डराए पनि घर फिर्न हिमपातले बाटो अवरुद्ध गरेकाले हिम्मत नगरी उनीहरू उतै रहेका हुन् । 

उक्त क्षेत्रमा हालसम्म कसैलाई पनि संक्रमण छैन । संक्रमणबाट जोगिन सतर्कताका लागि केही समय पातलिएको ताक्लाकोट बजारमा पुनः मानिसको आवतजावत बाक्लिन थालेपछि डराएका नेपालीहरू घर फर्कन खोजेका हुन् । 

‘हामी एक साताअगाडि नै हिँड्ने भनेर तयारी बसेका थियौँ,’ हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका कर्मा तुण्डुप लामाले भने, ‘सरकारले उद्धार गर्छ, जोखिम मोलेर नजानू भनेर खबर आयो, रोकियौं । दुई–चार दिन अझै पर्खन्छौं । केही व्यवस्था भएन भने आफ्नै तरिकाले फर्कन्छौं ।’  

उनले आफूसहित हुम्ला खगाल गाउँका फोक्देल लामा र हुम्लाको मुचुका थुप्देन लामा साताअघि नै नेपाल फर्कन खोजेको बताए । स्थानीय व्यापारीको संस्था कैलाश व्यापार संघकी उपाध्यक्ष ल्यामु लामाले नेपाल सरकारसँग उद्धारका लागि अनुरोध भइरहेकाले ज्यानको जोखिम मोलेर नजानुस् भनेपछि रोकिएको कर्माले बताए । 

‘हाम्रो एक जना साथी दुई साताअगाडि एक्लै हिँडेर नेपाल गइसकेको छ,’ भागेरै भए पनि आउने तयारीमा रहेका मुचुका थुप्देन लामाले भने, ‘हामी तीन जना भएपछि पुगिहालौँला भनेर हिँड्न लागेका छौँ ।’ 

ताक्लाकोटबाट हुम्ला प्रवेश गर्ने बाटामा पर्ने करिब १५ हजार फिट उचाइको नारालेकमा १० फिटभन्दा बढी हिउँ छिचोल्दै केही दिनअघि एक जना नेपाली भागेर हुम्ला आएका थिए । उनी घर आइपुगेर बिरामी परेका छन् ।ताक्लाकोटमै रहेकी संघकी उपाध्यक्ष ल्यामु लामाले जान खोजेकालाई अनुरोध गरेर रोकिराखेको बताइन् ।  

कान्तिपुरले नै प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको समाचार छापेको छ  । 

उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।  

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको हो,’ उनले भनिन्, ‘रिपोर्ट ४८ घण्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।’ 

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो । 

रंगेहात घुससहित पक्राउ गर्नुलाई भ्रष्टाचार मुद्दामा सबैभन्दा ठूलो प्रमाण मानिन्छ । तर, त्यसरी पक्राउ परेका कर्मचारीले सफाइ पाउने क्रम बढेको छ, नयाँ पत्रिकामा खबर छ ।  

घुस/रिसवत मुद्दामा पछिल्लो तीन महिनामा विशेष अदातलबाट १७ जना कर्मचारीले सफाइ पाएका छन् । रंगेहात पक्राउ परेका कर्मचारीले समेत सफाइ पाउन थालेपछि भ्रष्टाचारलाई प्रश्रय दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीको चिन्ता छ । विशेष अदालतले भने अख्तियारले दायर गर्ने मुद्दामा पर्याप्त प्रमाण नहुने गरेको फैसलामा उल्लेख गर्ने गरेको छ ।  

 सेवाग्राही बाहेकसँग घुस लिँदा सफाइ ? घुस दिने व्यक्ति सेवाग्राही नभएका कारण पनि कतिपयलाई विशेष अदालतले सफाइ दिएको छ । नेपाल प्रहरीका डिएसपी श्यामकुमार राईलाई सफाइ दिँदा घुस दिने व्यक्ति प्रहरी कार्यालयको सेवाग्राही नभएको उल्लेख छ ।  

बालुवा तस्करीको सहजीकरणका लागि भन्दै राईले घुस मागेको अख्तियारको दाबी थियो । पैसा भाटभटेनी सुपरमार्केटमा लगेर दिन उनले भनेको एसएमएससमेत प्रमाणका रूपमा पेस गरिएको थियो । आफूलाई थाहा नै नदिई घर्रामा पैसा राखिदिएको डिएसपी राईको जवाफ थियो । त्यसैलाई आधार मानेर उनलाई सफाइ दिइएको थियो ।  

घुससहित पक्राउ परेका कोटेश्वरका ट्राफिक प्रहरीलाई सफाइ दिँदा पनि यही कुरालाई आधार बनाइएको छ । बालुवा व्यवसायीहरू ट्राफिक प्रहरीका सेवाग्राही नभएको भनिएको छ । अख्तियारका अधिकारीहरू भने सेवाग्राहीबाहेक अन्य व्यक्तिसँग समेत घुस लेनदेन हुने बताउँछन् ।  

‘कतिपय घुस लेनदेन नीतिगत रूपमा हुन्छन्,’ आयोगका एक अधिकारी भन्छन्, ‘कुनै प्रहरीले अवैध काममा कारबाही नगरेर घुस लिएको हुन सक्छ, त्यो अवस्थामा घुस दिने व्यक्ति सेवाग्राही होइन भनेर उन्मुक्ति दिन मिल्छ ?’  

दाङको घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको समाचार आजको नागरिकमा छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ । 

सो जग्गामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रम हुन्थे। कम्पनीले सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिएपछि घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने स्थलको समेत अभाव खड्किएको छ। 

‘अब घोराही बजार क्षेत्रमा खाली जमिन सकियो भन्दा पनि हुन्छ, भोलि कुनै प्राकृतिक विपत् आइपरेको अवस्थामा घोराहीवासीलाई राख्ने ठाउँसमेत मेटाइयो, मेला, महोत्सवलगायत कार्यक्रम आयोजना गर्ने ठाउँ पनि मासियो’, नेकपा घोराही नगर संयोजक राममणि पाण्डेले भने, ‘जग्गा ठेक्का दिनु नीतिनियमले ठीक या बेठीक जे भए पनि भोलिका बारेमा केही नसोचिनु ठीक होइन।’ 

साबिकका साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थान गाभिएपछि साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको थियो। कम्पनीका दाङ प्रमुख माधव मिश्रका अनुसार कम्पनीलाई गत साउन २८ मा सरकारले स्वायत्तता प्रदान गरी कम्पनीका नाममा रहेको सरकारी जमिनको उचित व्यवस्थापन गर्न भनेको थियो। ‘सरकारले स्वायत्तता प्रदान गरेसँगै कम्पनीको नाममा रहेको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि अधिकार दियो,’ मिश्रले भने, ‘यसै अधिकारमा टेकेर सरकारी सम्पत्ति उचित व्यवस्थापन गर्ने प्रक्रियामा कम्पनी लागेको हो।’  

उनका अनुसार मन्त्रिपरिषद्को साउन २८ को निर्णयमा टेकेर सम्पत्ति महाशाखाले समेत खाली रहेको सरकारी जमिनमा भौतिक संरचना निर्माण वा जग्गा भाडामा दिनेगरी व्यवस्थापन गर्न कम्पनीको जिल्ला शाखालाई निर्देशन दिएको थियो। ‘सम्पत्ति महाशाखाले खाली जमिन लथालिंग नछोड्नु भनेर निर्देशन दिएको थियो,’ मिश्रले भने, ‘खाली जग्गाको व्यवस्थापन भनेको भाडामा दिनु थियो ।’ 

राजधानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको समाचार छापेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।   

बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सावर्जजनिक संस्थानका कर्मचारी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा मुद्दा दर्ता गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *