जापान-कोरिया हुँदै फर्केका युवालाई उच्च ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना !

फागुन २३, सुर्खेत । जापानबाट कोरिया हुँदै नेपाल आइपुगेको एक जनामा उच्च ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ ।
बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा एक युवालाई १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए । काठमाडौँबाट सुर्खेत आएका ती युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको हो ।
उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालका निर्देशक खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने- ‘ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था रहेको छैन ।’

प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच सुरु गरिएको हो ।
रासस








