कोरोना सन्त्रास : अत्यावश्यकबाहेक सबै सेवा बन्द, निजी क्षेत्रको भूमिका किन कमजोर ?

चैत ८, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि सरकारले थालेको तयारीको विषयका समाचार समाचारलाई प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले सरकारले कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्रीको घोषणाअनुसार अत्यावश्यक बाहेकका सरकारी, निजी र सामुदायिक तीनवटै क्षेत्रका कार्यालय, संघसंस्था बन्द हुनेछन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले भने यथावत् रूपमा आफ्नो काम गर्नुपर्ने छ । 

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान आउँदो आइतबारदेखि चैत १८ गतेसम्म स्थगन गरिएको छ । लामो दूरीमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन सञ्चालनमा पनि सोमबारबाट रोक लगाइएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीको सम्बोधनमा उल्लिखित विषयलाई कार्यतालिका बनाएर तल्काल कार्यान्वयन गरिने बताए । सम्बोधनका विषयलाई अझै स्पष्ट गर्दै कार्यान्वयनमा लैजान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले मुख्य सचिव नेतृत्वको कार्यदललाई शुक्रबार नै निर्देशन दिएको छ । शनिबार कार्यदलले स्पष्ट खाका तयार पार्नेछ । 

अन्नपूर्णले ‘अत्यावश्यक सेवामा के-के पर्छन् ?’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको भाग ५ को अनुसार आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा पर्छन्। त्यस्तै प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर सामानको उत्पादन गर्ने,थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एल.पि. ग्याँस समेत) को पैठारी, ढुवानी र भण्डारण तथा वितरण सम्बन्धी सेवा पनि अत्यावश्यक सेवामा पर्छन् । 

त्यसैगरि अस्पताल तथा स्वास्थ्थ केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु), औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा, फोहोरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल चामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा पनि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाभित्र पर्छन् । 

तर राजपत्रमा प्रकाशित हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवामा भने प्रावधान लागु नहुने देखिएको छ । 

पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका नयाँ पत्रिकाले खबर लेखेको छ । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् ।  

कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् । २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् । 

दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । यहाँ ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । संक्रमणको आशंका भएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । ‘दुईवटा डिजिटल थर्मोमिटरले ज्वरो जाँच गर्दै आएका छौँ । सामान्य ज्वरो देखिएकाहरूलाई उपचारपछि पुनः जाँचेर पठाउँछौँ, १०४ डिग्रीभन्दा माथि ज्वरो देखिए महाकाली अस्पतालमा रेफर गर्छौँ,’ हेल्थ डेस्क इन्चार्ज निर्मला जोशीले भनिन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तीन सिफ्ट गरेर नाकामा ज्वरो नाप्ने गरिएको उनले बताइन् ।  

गड्डाचौकी नाकाबाट फर्किनेहरू मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् । भारतमा होटेल, उद्योगलगायत रोजगारीका क्षेत्र बन्द भएपछि घर फर्किने नेपालीको संख्या बढेको हो । महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै दिल्ली, देहरादुन चल्ने नेपाल–भारत मैत्रीबस सेवा भने ३ चैतदेखि बन्द गरिएको छ ।  

भारतसँग जोडिएका कञ्चनपुरका अन्य साना नाका झन् अव्यवस्थित छन् । महाकाली र बेलौरी नगरपालिका क्षेत्रका नाकाका हेल्थ डेस्कमा पनि ज्वरो नापेर छाड्ने गरिएको छ । बेलौरीका मेयर पोतिलाल चौधरीले नाकामा आवतजावत नै बन्द गर्न छलफल भइरहेको बताए । महाकालीका प्रवक्ता दिलबहादुर सिँजालीले १० दिनका लागि आउजाउ बन्द गरिएको बताए । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाले समेत सीमा–नाका बन्द गर्ने तयारी थालेका छन् ।  

बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो, गोरखापत्रले समाचार छापेको छ ।  

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पुर्‍याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए। उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्ने जानकारी दिँदै भने, ‘कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।’ 

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए। अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, ‘बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।’ 

पोषणविद् डा. अरुणा उप्रेती अभिभावकलाई आतङ्कित नहुन सुझाव दिन्छन् । जटिलता छैन तर सुरक्षा अपनाउनुपर्ने उनले बताए। बालबालिकालाई साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने ज्ञान दिनुपर्छ । 

मौसम परिवर्तनका कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकाले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाँटीको झोल अथवा मनतातोपानी वा दूध बेसार र कालो मरिच मिसाएर दिनुपर्छ भन्दै उनी थप्छन्, ‘यस्ता खाने कुरा रोगसँग लड्ने क्षमता बढाउनका लागि हो ।’ रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो । त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिँदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकाले हात धुने बानीले यस प्रकारको रोगबाट बच्च सहयोग गर्ने डा. उप्रेतीले जानाकारी दिए। 

डा. पाण्डेले बाहिर काम गरेर आएपछि मास्क, बाहिरी कपडा, जुत्ता, झोला सकभर घरबाहिर वा छुट्टै कोठामा राख्न सुझाव दिँदै रुघाखोकी लागेमा अलग्गै कोठामा सुत्नुपर्ने बताए। बा-लबालिकालाई सामान्य रुघाखोकी लाग्दैमा अस्पताल वा क्लिनिक लैजान जरुरी छैन भन्दै उहाँले त्यहाँ हुने भीडभाडले बा-लबालिकामा सङ्क्रामक रोग सर्ने डर हुने प्रष्ट पारे। घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भीडभाड नहुने गरी जांँच गराउने व्यवस्था गर्नुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *