जो इटाली फर्कन चाहँदैनन्

पोखरा । फेवातालको आडैमा बसेर दुई इटालियन महिलाले एक नेपाली व्यवसायीसँग सल्लाह मागे, ‘सिक्लेस ठीक कि धम्पुस ?’ व्यवसायीले कास्कीका दुवै पर्यटकीय गाउँसम्म पुग्न लाग्ने समय, खाने, बस्ने खर्चको विवरण सुनाए । 

५९ वर्षीया ज्योभना तोमासी ‘ट्राभल ब्लगर’ हुन् । उनी वर्षमा मुस्किलले दुई महिना इटाली बस्छिन् । अरू समय विदेश घुमेरै बिताउँछिन् । किताब लेख्ने तयारीमा रहेकी उनी नेपाल आएको तेस्रोपल्ट हो, पोखरा दोस्रोपल्ट । मार्च ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झर्दा उनको ज्वरोबाहेक केही नापिएन ।  

नत स्वस्थ रहेको प्रमाणपत्र नै मागियो । मार्च ६ मा उनीसँगै जोडिइन् ६९ वर्षीया डोनिनी डोनाटेला । श्रीलंका बसेर आएकी उनले स्वस्थ भएको प्रमाणपत्र विमानस्थलमा बुझाइन् । क्वारेन्टाइनमा बस्न दुवै जनालाई भनिएको थिएन । कोभिड–१९ को संक्रमणका कारण उनीहरूको देश ‘लकडाउन’ गरिएको छ । 

विश्व कोभिड–१९ को त्रासमा रहँदा दुवै जना काठमाडौंमा फुक्काफाल घुमे । १० दिन काठमाडौंमा बिताएर चितवन हान्निए । तीन दिन सौराहा वरपर बिताए । बुधबार पोखरा आए । दुवै गुम्बामा पुग्छन् । प्रार्थना गर्छन् । डाँडामा पुगेर ध्यानमा मग्न हुन्छन् । नेपाल आउनुअघि १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेको ज्योभनाले सुनाइन् । त्यसअघि उनी १५ दिन ओमनमा बिताएर आफ्नो देश पुगेकी थिइन् । 

ज्योभनाको अप्रिल ३ सम्म र डोनिनीको अप्रिल ५ सम्म भिसा छ । दुवैको उडान मार्च २६ मा छ । थाई एयरलाइन्सबाट बैंकक हुँदै इटाली पुग्ने योजना डामाडोल भएको छ । कोभिड–१९ संक्रमणको जोखिमकै कारण थाई एयरलाइन्सले उडान बन्द गरिसकेको छ । नेपालबाट इटालीको सीधा उडान छैन । ज्योभनाले भनिन्, ‘हामी नेपाल छोड्न सक्दैनौं । इटालीभन्दा यहीं सुरक्षित छ ।’ 

एक महिना भिसा थप्ने सोच बनाएका उनीहरूसँग समय उपयोग गर्ने आफ्नै योजना छ । नजिकैबाट हिमाल देखिने कुनै गाउँ जाने, प्रकृतिसँग रमाउने, लेख्ने र मानिसबाट टाढा बस्ने । लामो समय नेपाल नबस्ने सोचले आएकी ज्योभनाले ल्यापटप बोकिनन् । हातैले लेख्न बानी पार्ने तयारीमा छिन्, कान्तिपुरमा समाचार छ ।  

आफ्नो देशबाट पैसा पठाउने कार्यालय पनि बन्द भएकाले खर्च अभाव हुन सक्ने डर पनि उनीहरूसँग छ । दुवैले इटालीमा चिन्ता गर्नुपर्ने कोही छैन । बूढा बुबाआमा छैनन् । छोराछोरी सेल्फ क्वारेन्टाइनमा सुरक्षित छन् । उनीहरूसँग दिनदिनैजसो फेसबुकमार्फत कुराकानी हुन्छ । नेपालमै बस्न छोराछोरीले सुझाउँछन् । ‘मेरो देशबाहिर बस्ने बानी परिसक्यो,’ डोनिनीतिर हेर्दै ज्योभनाले भनिन् । ‘मलाई पनि यहाँ बस्न कुनै समस्या छैन,’ डोनिनीले भनिन् । 

पोखरामा पर्यटकको चाप कम भएपछि खाद्यान्नको खपत कम भएको छ । होटलबाट कम फोहोर निस्किएका छन् । तालतिर सोझिएका ढल बग्न छाडेका छन् । फेवाताल अरू बेलाभन्दा सङ्लो देखिएको छ । तालको पानी हातैले उघाएर पिउन मिल्नेजस्तो देखिन्छ । ज्योभना र डोनिनी बस्ने इटालीको सहर ब्रेसियामा दुई ठूला ताल छन्, गर्दा र इसियो । फेवाताल यी दुईलाई इसियोजस्तै लाग्छ । फेवाको मुहान हर्पन खोलाजस्तै छ, ओग्लियो नदी । पहाडको बीचमा रहेको फेवा हेरेर इसियोको तिर्सना मेट्छन् । 

यहाँका नेपालीले दुवैको मन जितेका छन् । ‘पोखराका मानिस आत्मीय छन्, मित्रवत् व्यवहार गर्छन्,’ ज्योभनाले भनिन्, ‘कोरोना फैलिएको देशबाट आएको भने पनि छिछि र दुरदुर गर्दैनन् । यो एकदमै राम्रो पक्ष हो ।’ नेपालमा सबै निस्फिक्री घुमिरहेको देख्दा डोनिनी आफूलाई सुरक्षित महसुस गर्छिन् ।  

नेपालीले पर्यटकलाई गर्ने व्यवहारले आफूलाई सुरक्षित महसुस गराएको उनले बताइन् । नेपाल सरकारले सही सूचना दियोस् भन्ने उनीहरू चाहन्छन् । ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हो भने जानकारी गराइदिए राम्रो,’ दुवैले भने, ‘बेलाबेला स्वास्थ्य परीक्षण पनि गरिरहनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *