वीपी प्रतिष्ठानमा स्नातक तहको अध्यापन स्थगित, घरबाटै टेलिफोनमा स्वास्थ्य सल्लाह लिन आग्रह

चैत्र ६, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना स्नातक तहका शैक्षिक कार्यक्रम स्थगित गरेको छ । प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै भोलीबाट अर्को सुचना प्रकाशित नभएसम्मकालागि स्नातक तहका शैक्षिक कार्यक्रम स्थगित गरेको जनाएको छ ।   

प्रतिष्ठानले कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको हिजो गरेको निर्णय बमोजिम गरेको निर्देशन अनुसार संक्रमणको उच्च जोखिमलाई मध्य नजर गर्दै शैक्षिक कार्यक्रम स्थगित गरेको जनाएको छ ।   

प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले सरकारले २५ जना भन्दा बढि भेला हुन बन्द गरेका कारण प्रतिष्ठानको स्नातक तहका शैक्षिक कार्यक्रम स्थगित गरेको जनाए । ‘हाम्रा सबै कार्यक्रम स्थगित भएका हैनन् । स्नातक तहका एमविविएस, विडिएस, विएमआइटी लगायतका कक्षाहरु मात्र स्थगित गरिएको हो ।’ प्रतिष्ठानका प्रवक्ता डा. ऐरले भने । प्रतिष्ठानमा हाल यी विषयमा करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रतिष्ठानले स्नात्तकोत्तर तहको अध्ययन अध्यापन भने बन्द गरेको छैन ।   

प्रतिष्ठानमा उपचारार्थ आउने विरामीका लागि आवश्यक जनशक्ति चाहिने भएकोले स्नात्तकोत्तर तहको अध्ययनअध्यापन नरोकिएको प्रवक्ता डा. ऐरले बताए । ‘स्नात्तकोत्तर तहको एमविड, एमएस, एमडिएसका जनशक्तिहरु डाक्टरका रुपमा रजिष्ट्रर भइसकेका र उनीहरु विरामीको उपचारार्थ फिल्डमा खटिनु पर्ने भएकोले विदा दिन मिल्दैन ।’ उनले भने ।   

प्रतिष्ठानले कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि उच्च सर्तकता अपनाएको छ । प्रतिष्ठानको ओपिडी तथा इमरजेन्सीमा दैनिक दैनिक तीन हजारको हाराहारीमा विभिन्न प्रकारका विरामीहरु उपचारका लागि आउने र तीनमा कोरोना भाइरसकै आशंकामा पनि विरामी आउने भएकाले ती क्षेत्रहरुमा उच्च सतर्कता अपनाइएको छ ।   

हेल्थ डेक्स र इस्क्रिनिङको व्यवस्था 

‘प्रतिष्ठान पूर्वकै रेफरल सेन्टर भएकोले विरामीको चाप बढि नै छ, तथापि, हामीले यो संक्रमणबाट विरामीको उपचार, परीक्षण गर्न उच्च सतर्कता अपनाएका छौं । इमरजेन्सी, जनरल ओपिडी तथा डेण्टल ओपिडीमा आउने विरामीलाई हेल्प डेक्स नै स्थापना गरेर शुरुमै स्क्रिनिङ गर्ने ब्यवस्था गरिएको छ ।’ डा. ऐरले भने । उनले अत्याधिक विरामीको चाप हुने जिओपिडीलाई समेत खुकुलो गराउन मल्टिपल ठाउँमा राख्ने विषयमा छलफल भइरहेको बताए ।   

यसरी अस्पतालमा आउने सबै प्रकारका विरामीलाई स्क्रिनिङ गर्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई कोरोना संक्रमण सर्नबाट केही हदसम्म कम गर्न सकिने प्रतिष्ठानको भनाई छ । ‘विरामीको स्वास्थ्य परीक्षण सँगै चिकित्सक र कर्मचारीको स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने भएकोले हामीले चिकित्सक र कर्मचारीलाई सुरक्षाका पर्याप्त ब्यवस्था गरेका छौं । एप्रोन, सर्जिकल माक्स लगाएर, स्यानिटाइजर प्रयोग गरेर उपचार गर्न ब्यवस्था गरेका छौं ।’ डा. ऐरले भने ।   

प्रतिष्ठानले कोरोना भाइरस संक्रमणकै आशंकामा आएका विरामीका लागि १० वटा आइसोलेसन वेडको ब्यवस्था गरेको छ । भने, अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहको संयोजकत्वमा सबै विभागका चिकित्सकहरु सम्मिलित उच्चस्तरीय कमिटि समेत गठन गरेको छ ।   

ल्याव नहुँदा समस्या   

कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने सुविधासम्पन्न ल्याव काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा मात्र रहेकाले प्रतिष्ठानमा कोरोना भाइरसकै आशंकामा उपचारका लागि आएका विरामीको स्वाब परीक्षण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता छ । ‘प्रतिष्ठानमा सुविधासम्पन्न माइक्रोवायोलोजी ल्याव भएपनि कोरोना भाइरस कै परीक्षण गर्न सकिँदैन, हामीले विशेष सुरक्षाका साथ संकलन गरीएको स्वाब काठमाडौं पठाउँछौं र, त्यहाँबाट रिपोर्ट आएपछि मात्र कोरोना भएको नभएको यकिन गर्नुपर्ने बाध्यता छ ।’ डा. ऐर भन्छन् ।   

१ नं. प्रदेशमै कोरोना स्वाब परीक्षण गर्ने ब्यवस्था गरे उपचारमा सहजता हुने प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानले ल्याव स्थापना गर्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरीरहेको बताएको छ । ‘प्रतिष्ठानमा पूर्वाधार पनि छ, जनशक्तिका हिसाबले पनि हामीलाई सहज छ ।’ डा. ऐरले भने ।   

आवश्यक परेमात्र अस्पताल आउनु 

वीपी प्रतिष्ठानले कोरोना भाइरस संक्रमणबाट बच्न घरमा रहेका विरामीहरुलाई समेत आवश्यक परे वा इमरजेन्सी भएमात्र अस्पताल आउन आग्रह गरेको छ । प्रतिष्ठानमा विरामीको अत्याधिक भिडभाड हुने भएकोले संक्रमणको उच्च जोखिम बाट बच्न सामान्य स्वास्थ्य समस्यामा अस्पताल आउनु भन्दापनि टेलिफोनबाट स्वास्थ्य सल्लाह लिन आग्रह गरेको छ । भने, इमरजेन्सी अप्रेसन गर्नुपर्ने केस वाहेक अन्य केसहरुको अप्रेसन समेत चिकित्सकहरुको सुझावमा डेट सार्न आग्रह गरेको छ ।  

‘अस्पतालहरुमा पनि संक्रमणको डर हुन्छ, सामान्य विमारीमा अस्पताल आउनु भन्दा घरबाटै टेलिफोनबाट चिकित्सकसँग स्वास्थ्य सल्लाह लिन आग्रह गर्दछौं ।’ डा. ऐरले भने ।   

कर्णालीको पठनपाठन स्थगित 

यता जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आउँदो चैत्र मसान्तसम्मका लागि प्रतिष्ठानले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, परीक्षाहरु, तालिमहरु, फिल्ड तथा क्लिनिकल पोस्टिङका कार्यक्रम बन्द गरेको शैक्षिक प्रशासनले जनाएको छ । यस अघि त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतले पनि आफ्ना शैक्षिक कार्यक्रम चैत्र मसान्तसम्मकालागि स्थगित गरिसकेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *