प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज, किचलोमै बित्यो देउवा कार्यकाल, कोरोना बहानामा कालोबजारी

फागुन २५, काठमाडौ । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक-फरक विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् ।   

बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेको समाचार आजको नयाँ पत्रिकामा छ । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् ।  

मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जतिसक्दो चाँडै डिस्चार्ज मागेका छन् । शनिबार राउन्डमा गएका चिकित्सकसँग उनले यस्तो प्रस्ताव राखेका हुन् । तर, डिस्चार्ज दिएपछि घरमा आरामभन्दा भेटघाट बढ्ने भन्दै २–४ दिन बढी अस्पतालमा राख्ने पक्षमा चिकित्सकहरू छन् ।  

चाँडै डिस्चार्ज दिँदा विगतमा भेटघाट र कार्यक्रमले आराम नपाएको भन्दै यसपटक चिकित्सक केही दिन बढी प्रधानमन्त्रीलाई अस्पतालमै आराम गराउने पक्षमा देखिएका हुन् । प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यले पनि चिकित्सकलाई केही दिन अस्पतालमै आराम गराउन अनुरोध गरेको चिकित्सक बताउँछन् । उपचारमा संलग्न एक चिकित्सकले शाक्यको भनाइ उद्धृत गर्दै भने, ‘विगतको अस्पताल बसाइ पनि निकै कम भयो, डिस्चार्ज दिएपछि उहाँलाई सचिवालयका मान्छेले आराम गराउनेभन्दा पनि कार्यक्रममा बढी लैजाने गरे । त्यसैले यसपटक अस्पतालमै केही दिन राखिदिनुहोला ।’  

संक्रमण नहोस् भनेर प्रधानमन्त्रीलाई चिकित्सकले शुक्रबारदेखि फिजियोथेरापी सुरु गराएका छन् । फिजियोथेरापीलाई शनिबार पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । फिजियोथेरापीमा ओलीलाई खोक्न लगाउने, हातखुट्टाका औँला चलाउने, खुट्टामा तेल लगाउने, हिँडाउनेजस्ता काम गराइएको छ ।  

अन्नपूर्णले ‘ग्यास गायब’ शीर्षकमा समाचार छापेको छ । उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्। 

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्। केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्। 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे। 

‘निम्नवर्ग ग्यास नपाएर सास्ती व्यहोर्न बाध्य छन्। ग्यास पर्याप्त मात्रामा छ। नियमित रूपमा बढी परिमाणमा आयात भइरहेकाले थुपार्न आवश्यक छैन,’ पौडेलले भने, ‘चाहिएको अवस्थामा जति पनि उपलब्ध गराउन सक्षम छौं।’ पौडेलका अनुसार निगमले मार्चमा ४५ हजार टन हाराहारीमा ग्यास आयात गर्न ग्यास बोटलिङ तथा रिफिलिङ उद्योगलाई उत्पादन प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेको छ। 

निगमको ग्यास विभागका निर्देशक दीपक बरालका अनुसार निगमले हालसम्मकै सबैभन्दा बढी पीडीओ (४५ हजार टन) मार्चमा जारी गरेको छ। ‘यसले नपुगे हामी थप ५ टनको पीडीओ जारी गर्न तयार छौं,’ बरालले भने, ‘यो माग अस्वाभाभिक रूपमा आएको छ। यति परिमाण कहिले खपत हुँदैनथ्यो। अत्यधिक खपत भए पनि ४० टनले पुग्थ्यो।’ 

अत्यधिक मागका कारण महिनाभरमा आयात हुने ४५ हजार टनमध्ये सात दिनमै १०५ प्रतिशतका दरले १३ हजार टन आयात भइसकेको छ। जब कि दैनिक खपत १ हजार पाँचका दरले सात दिनमा १० हजार ५ सय टन आयात हुनुपर्ने थियो । 

‘कोरोना बहानामा कालोबजारी’ शीर्षकमा नागरिकले समाचार छापेको छ । ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ । ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो ।  

नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’ तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँसमा कालोबजारी हुने सम्भावना बढेको छ। 

अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो। 

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन। तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्। १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ।  

शुक्रबार प्रिया ट्रेडर्सले एक सय १० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेपछि महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडको टोलीले सञ्चालक अनिल गुप्तालाई नियन्त्रणमा लिएको छ। 

नागरिकले नै किचलोमै बित्यो देउवा कार्यकाल शीर्षकमा समाचार छापेको छ । झन्डै ५५ वर्षअघि प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लाग्दा शेरबहादुर देउवाले मुलुकको कार्यकारी प्रमुखसहित पार्टीको नेतृत्वमा पुग्छु भन्ने सायदै सोचेका थिए।  

डडेलधुरामा मध्यमवर्गीय परिवारमा जन्मेका देउवाका लागि त्यतिबेला काठमाडौंमा आलिसान महल र सुखसयलको कुरा त निकै टाढाको कुरा थियो। ज्यानै माया मारेर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लागेका देउवा ५५ वर्षपछि आइपुग्दा पटकपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री बने। पछिल्लो चार वर्षदेखि उनी नेपाली कांग्रेसको मूल नेतृत्वमा छन्। पटकपटक प्रधानमन्त्री र पार्टीको सभापति बनेका देउवाले सुखसयलको जीवन पनि बिताइरहेका छन्। 

पार्टीको १३औं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको निर्वाचनबाट देउवा चार वर्षका लागि मूल नेतृत्वमा पुगेका हुन्। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर त्यो धेरै दिन टिकेन। 

२०७२ चैत ३ गते सभापतिको औपचारिक जिम्मेवारी सम्हालेका देउवाले सोही दिन सभापतिका प्रत्यासी रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। त्यहींबाट सुरु भएको पार्टी आन्तरिक विवादले निरन्तरता पाइरहेको छ। देउवाको चारवर्षे कार्यकाल पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो र कलहमै बित्यो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *