पारमाणविक विधेयक दफावार छलफलका लागि समितिमा

फागुन २०, राष्ट्रियसभाको मंगलबारको बैठकले ‘पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उक्त प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सदनमा प्रस्तुत गरेका थिए। यसैगरी बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले ‘भौतिक पूर्वाधार तथा सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरेकी थिइन् ।
प्रतिवेदन पेश गर्दै उनले प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई–दुई जिल्लामा अन्तक्र्रिया गरिएको बताइन्। ती जिल्लामा भौतिक र जनशक्तिको उपलब्धता कारण सुशासन कायम हुन नसकेको तथा नमूना छनोटका आधारमा नगरपालिका एवं गाउँपालिकाका न्यायिक समितिको गतिविधि प्रभावकारी हुन नसकेको पाइएको उनले बताइन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २१ गते दिउँसो १२ः१५ बजे बस्नेछ ।

रासस








